नेप्से १०.६७ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो

User Image Prime TV News ३ हप्ता अगाडि
Image of नेप्से १०.६७ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो

काठमाडौ । अघिल्लो दिन सामान्य सुधार देखिएको नेपाली सेयर बजार शुक्रबार पुनः घटेको छ।

शुक्रबार नेप्से परिसूचक १०.६७ अंकले घटेर २ हजार ६१८ अंकमा कायम भएको छ। बिहीबार नेप्से ७.१७ अंकले बढेको थियो। तर, शुक्रबार बजारमा बिक्री चाप बढ्दा परिसूचक पुनः ओरालो लागेको हो।

आज कारोबार रकमसमेत घटेको छ। बिहीबार ४ अर्ब ४० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा शुक्रबार कारोबार रकम घटेर ४ अर्ब १६ करोड रुपैयाँमा सीमित भएको छ। शुक्रबार कुल ७० कम्पनीको सेयर मूल्य बढेको छ भने १९८ कम्पनीको मूल्य घटेको छ। १० कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो।

समूहगत कारोबारमा सबैजसो उपसूचक घटेका छन्। अन्य समूहको सूचक सबैभन्दा धेरै १.०६ प्रतिशत घटेको छ। त्यस्तै बैंकिङ ०.०४, विकास बैंक ०.५४, फाइनान्स ०.४३, होटल तथा पर्यटन ०.१०, जलविद्युत् ०.६६, लगानी ०.१९, जीवन बीमा ०.३७, उत्पादन तथा प्रशोधन ०.४६, माइक्रोफाइनान्स ०.४४, निर्जीवन बीमा ०.०४ तथा व्यापार समूहको सूचक ०.६८ प्रतिशत घटेको छ।

समूहगत कारोबारका आधारमा जलविद्युत् क्षेत्रले शुक्रबार पनि अग्रता कायम राखेको छ। जलविद्युत् कम्पनीको मात्रै करिब २ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जुन कुल कारोबारको करिब ६० प्रतिशत हो।

वाणिज्य बैंक समूहका कम्पनीमा ३३ करोड तथा उत्पादन तथा प्रशोधन समूहमा ४२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। शुक्रबार हालै सूचीकृत सर्वोत्तम पेन्ट्सको सेयर मूल्य १५ प्रतिशतले बढेको छ। त्यस्तै पञ्चकन्या माइ हाइड्रोको १३.८६ प्रतिशत, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको ५.५१ प्रतिशत र हाथवे इन्भेस्टमेन्टको ४.९९ प्रतिशत मूल्य बढेको छ।

यसैगरी धौलागिरि लघुवित्तको सेयर मूल्य ५.२६ प्रतिशत, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिकको ४.१७ प्रतिशत तथा ग्रामीण विकास लघुवित्तको मूल्य ३.८७ प्रतिशतले घटेको छ। रकमका आधारमा सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, रिडी पावर, सानिमा माइ हाइड्रोपावर, सानिमा मिडिल तमोर, माउन्टेन इनर्जी र साहस ऊर्जा अगाडि रहेका छन्।