बागमतीका मुख्यमन्त्री थापाले भदौ ७ गते विश्वासको मत लिने
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आगामी भदौ ७ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।
प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि उक्त दिन प्रदेशसभा बैठक आह्वान गरिएको जनाएको छ। प्रदेशसभा बैठक भदौ ७ गते दिउँसो १ बजे बस्नेछ। बैठकमा मुख्यमन्त्री थापामगरले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालय, हेटौँडाले जनाएको छ।
प्रदेशसभाका सचिव रामकुमार पौडेलका अनुसार प्रदेशसभाको आठौँ अधिवेशनको १८औँ बैठकका लागि उपसभामुख अप्सरा चापागाईंले प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम आइतबार दिउँसो १ बजेको समय निर्धारण गरेकी हुन्।
उक्त बैठकमा मुख्यमन्त्री थापामगरले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मतको प्रस्ताव पेस गर्नेछन्। मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभा बैठक बोलाइएको हो।
अब मुख्यमन्त्री थापामगरको पक्षमा प्रदेशसभामा कायम सदस्यहरूको समर्थन कति जुट्छ भन्ने विषयमा राजनीतिक चासो बढेको छ।







