रास्वपाका केन्द्रीय सदस्यलाई दुईदिने प्रशिक्षण, लामिछानेले प्रशिक्षण दिने

User Image Prime TV News ३ हप्ता अगाडि
Image of रास्वपाका केन्द्रीय सदस्यलाई दुईदिने प्रशिक्षण, लामिछानेले प्रशिक्षण दिने

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना केन्द्रीय सदस्यलाई दुईदिने प्रशिक्षण दिने भएको छ।

पार्टी सभापति रवि लामिछानेले केन्द्रीय सदस्यलाई पार्टी सञ्चालनसम्बन्धी प्रशिक्षण दिने भएका हुन्। रास्वपाले बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा शनिबार र आइतबार अभिमुखीकरण कार्यक्रम आयोजना गरेको एक पदाधिकारीले जानकारी दिए।

पार्टी सञ्चालन विधि, सांगठनिक जिम्मेवारी तथा कार्यसम्पादनका विषयमा केन्द्रीय सदस्यलाई प्रशिक्षण दिने तयारी रहेको ती पदाधिकारीले बताए। रास्वपाको चितवनमा असार ७ देखि १२ गतेसम्म सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए।

शुक्रबार बसेको केन्द्रीय समिति बैठकले थप ९ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेपछि केन्द्रीय समितिको संख्या १०८ पुगेको छ। रास्वपाको विधानअनुसार केन्द्रीय समिति १५१ सदस्यीय हुने व्यवस्था छ। बाँकी सदस्य मनोनयन तथा चयनको प्रक्रिया क्रमशः अघि बढाइने पार्टीले जनाएको छ।

“भोलि र पर्सि दुई दिन केन्द्रीय सदस्यलाई पार्टी सञ्चालन विधिबारे प्रशिक्षण दिने कार्यक्रम राखिएको छ,” रास्वपाका एक पदाधिकारीले भने। पार्टीको संगठन विस्तार र आन्तरिक संरचनालाई थप व्यवस्थित बनाउने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागिएको बताइएको छ।