कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गरिएको निवेदनमा सर्वोच्चले थप अध्ययन गर्ने

User Image Prime TV News ३ हप्ता अगाडि
Image of कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गरिएको निवेदनमा सर्वोच्चले थप अध्ययन गर्ने

काठमाडौ । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आगामी असोजमा तय भएको १५औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा पेस गरेको निवेदनमाथि थप अध्ययन हुने भएको छ।

१५औँ महाधिवेशनका सबै प्रक्रिया तत्काल रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान उपसभापति पूर्णबहादुर खड्काको तर्फबाट वारेस अनुमति लिएर नेता दीपक खड्का र अधिवक्ता श्रवणकुमार श्रेष्ठ सर्वोच्च अदालत पुगेका थिए।

तर, उक्त निवेदन सर्वोच्चमा दर्ता भने भएको छैन। कांग्रेसका एक नेताका अनुसार सर्वोच्च प्रशासनले निवेदनमाथि थप अध्ययन आवश्यक रहेको भन्दै तत्काल दर्ता नगरेको जानकारी दिएको छ। संस्थापनइतर समूहले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई अस्वीकार गर्दै यसअघि नै सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दिएको थियो।

उक्त मुद्दामा सर्वोच्चले पुनः सुनुवाइ गर्ने आदेशसमेत दिइसकेको छ। अहिले भने पार्टीले एकपक्षीय रूपमा महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको दाबी गर्दै संस्थापनइतर समूहले महाधिवेशनका सबै प्रक्रिया रोक्न माग गरेको हो।

नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ। महाधिवेशनको वैधानिकता र नेतृत्वसम्बन्धी विवाद अदालतसम्म पुगेपछि कांग्रेसको महाधिवेशन प्रक्रिया थप अन्योलमा परेको छ।