बञ्चरेडाँडाको फोहोर व्यवस्थापनबारे छलफलमा आशिका तामाङ र मेयरबीच चर्काचर्की
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । बञ्चरेडाँडामा फोहोर व्यवस्थापनको विषयमा सिंहदरबारमा आयोजित छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुखहरूबीच चर्काचर्की भएको छ।
सञ्चारमन्त्री विक्रम तिमल्सिनाले काठमाडौं उपत्यकासहित फोहोर व्यवस्थापनबाट प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिहरूलाई बोलाएर सिंहदरबारमा छलफल आयोजना गरेका थिए। उक्त बैठकमा सांसद तामाङसमेत सहभागी थिइन्।
छलफलका क्रममा फोहोर व्यवस्थापन तथा प्रभावित क्षेत्रका समस्याबारे कुरा उठेपछि सांसद तामाङ र स्थानीय जनप्रतिनिधिबीच भनाभन भएको हो। विवाद चर्किएपछि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलगायतका जनप्रतिनिधिले तामाङलाई सम्झाउने प्रयास गरेका थिए। तर, तामाङ थप आक्रोशित बनेकी थिइन्।
मेयर महर्जनले तामाङलाई सम्झाउँदै “त्यतिकै बेस्सरी कराएर हुन्छ ? मेयरसाबलाई कराएर हुन्छ ?” भनेर प्रश्न गरेका थिए। जवाफमा तामाङले “आउनु पर्यो नि” भनेकी थिइन्। त्यसपछि महर्जनले “आउँदै हुनुहुन्छ त” भन्दै जवाफ फर्काएपछि तामाङले “बञ्चरेडाँडाका मान्छे होइन ?” भन्दै प्रतिप्रश्न गरेकी थिइन्।
सांसद तामाङले बञ्चरेडाँडा क्षेत्रका स्थानीयको समस्या समाधानमा अहिलेसम्म स्थानीय सरकारले बेवास्ता गरेको आरोप लगाएकी थिइन्। फोहोर व्यवस्थापनका कारण प्रभावित स्थानीयको माग सम्बोधन नभएको भन्दै उनले आक्रोश व्यक्त गरेकी थिइन्।
छलफलका क्रममा उनले समस्या तत्काल समाधान नभए भोलिदेखि बञ्चरेडाँडामा फोहोर लैजान नदिने चेतावनी दिएकी थिइन्। त्यसपछि तामाङ बैठकबाट बाहिरिएकी थिइन्। बञ्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको भए पनि प्रभावित स्थानीयको माग, पूर्वाधार तथा वातावरणीय असरका विषयमा लामो समयदेखि विवाद हुँदै आएको छ।







