गरिमा चौधरी घटनामा दोषीलाई कानुनी कठघरामा उभ्याउँछौँ : गृहमन्त्री गुरुङ
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । गृहमन्त्री सुधन गुरुङले तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधप्रति गहिरो दुःख व्यक्त गर्दै दोषीलाई कानुनी कठघरामा उभ्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले घटनाले सम्पूर्ण समाजलाई स्तब्ध बनाएको भन्दै नागरिकको आक्रोशलाई आफूले गम्भीर रूपमा बुझेको बताएका छन्।
उनका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा आरोपितहरूलाई तत्काल पक्राउ गरिएको थियो। पछिल्लो समय बालिकाका अभिभावकले जाहेरी दिएपछि सोही आधारमा थप चार जनालाई नियन्त्रणमा लिइएको उनले बताएका छन्।
गृहमन्त्री गुरुङले अहिले सरकारको पहिलो प्राथमिकता बालिका गरिमालाई न्याय दिलाउनु रहेको बताएका छन्। त्यसका लागि घटनासँग सम्बन्धित प्रमाण सुरक्षित राख्दै निष्पक्ष अनुसन्धान आवश्यक रहेको उनको भनाइ छ।
घटनाको प्रारम्भिक चरणमा प्रहरीबाट लापरबाही भएको भन्ने प्रश्न उठेपछि सम्बन्धित प्रहरी अधिकारीमाथि समेत छानबिन र कारबाहीको प्रक्रिया अघि बढाइएको गृहमन्त्रीले जानकारी दिएका छन्। विगतका कमजोरीबाट पाठ सिक्दै अनुसन्धानमा कुनै बाधा वा त्रुटि हुन नदिने गरी गृह प्रशासन सचेत रहेको उनको दाबी छ।
घटनाका दोषीलाई मृत्युदण्ड दिनुपर्ने माग उठिरहेका बेला गृहमन्त्री गुरुङले नेपालको कानुनी व्यवस्थाबारे पनि स्पष्ट पारेका छन्। नेपालको संविधानको धारा १६ को उपधारा २ ले मृत्युदण्ड दिने गरी कानुन बनाउन निषेध गरेको तथा नेपालले मृत्युदण्ड उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको भन्दै तत्काल मृत्युदण्ड दिन सक्ने अवस्था नरहेको उनले बताएका छन्।
गृहमन्त्रीले घटनालाई राजनीतिकरण नगर्न र अपुष्ट सूचनाका आधारमा ‘मिडिया ट्रायल’ नगर्न पनि सबै पक्षलाई आग्रह गरेका छन्। नागरिकको आक्रोश स्वाभाविक भए पनि त्यसले अनुसन्धान र न्यायिक प्रक्रियालाई प्रभावित गरेमा अन्ततः न्याय कमजोर हुन सक्ने उनको भनाइ छ।







