टप एन्ड टी–२० मा आज बंगलादेश हाई–परफर्मेन्ससँग खेल्दै नेपाल ‘ए’
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ले आज बंगलादेश हाई–परफर्मेन्ससँग प्रतिस्पर्धा गर्दै छ ।
पहिलो खेलमा आयोजक नर्दन टेरिटोरी स्ट्राइकसँग आठ विकेटले पराजित भएको नेपाल ‘ए’ आजको खेलमा पुनरागमन गर्दै पहिलो जित दर्ता गर्ने लक्ष्यमा छ ।
डार्विनस्थित मारारा ओभलमा हुने नेपाली समयअनुसार अपराह्न २ः१५ बजे खेल सुरु हुने नेपाल क्रिकेट संघले जनाएको छ । नेपाल ‘ए’ले पहिलो खेलमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि आज ब्याटिङ र बलिङ दुवैमा सुधार गर्दै बंगलादेश हाई–परफर्मेन्सलाई चुनौती दिने तयारी गरेको छ ।
प्रतियोगिताको सुरुआतमै हार व्यहोरे पनि नेपालसँग लिग चरणमा सुधारको अवसर बाँकी छ । नेपालले यसअघि गत वर्षको टप एन्ड टी–२० मा पनि बंगलादेश ‘ए’ विरुद्ध खेलेको थियो । उक्त खेलमा नेपाल २९ रनले पराजित भएको थियो ।
प्रतियोगितामा प्रत्येक टोलीले लिग चरणमा छ खेल खेल्ने भएकाले नेपालका लागि आजको खेलपछि पनि अगाडि बढ्ने पर्याप्त अवसर रहनेछ ।







