विश्वकप फाइनलको झडपमा अर्जेन्टिनामाथि फिफाको कडा कारबाही, पारेडेसलाई १० खेल प्रतिबन्ध

User Image Prime TV News ३ हप्ता अगाडि
Image of विश्वकप फाइनलको झडपमा अर्जेन्टिनामाथि फिफाको कडा कारबाही, पारेडेसलाई १० खेल प्रतिबन्ध

काठमाडौ । विश्वकप–२०२६ को फाइनलमा स्पेनसँगको खेलपछि भएको विवादमा फिफाले अर्जेन्टिनाका खेलाडी तथा टोलीका अधिकारीमाथि कारबाही गरेको छ।

फिफाले शुक्रबार अनुशासन समितिको निर्णय सार्वजनिक गर्दै विभिन्न खेलाडीलाई प्रतिबन्ध र जरिवाना तोकेको हो। न्युयोर्क–न्युजर्सीमा जुलाई १९ मा भएको फाइनलमा स्पेनले अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले पराजित गरेको थियो।

खेलपछि दुवै टोलीका खेलाडीबीच विवाद भएको थियो। फिफाको निर्णयअनुसार अर्जेन्टिनाका लिआन्ड्रो पारेडेसलाई १० खेलको प्रतिबन्धसहित ९० हजार अमेरिकी डलर जरिवाना गरिएको छ। नहुएल मोलिनालाई सात खेलको प्रतिबन्ध र ९० हजार डलर जरिवाना तोकिएको छ।

त्यस्तै, थियागो अल्माडालाई एक खेलको प्रतिबन्ध र ३० हजार डलर तथा अर्जेन्टिनाका टोली अधिकारी रोबर्टो आयालालाई तीन खेलको प्रतिबन्ध र ३० हजार डलर जरिवाना गरिएको छ।

स्पेनका पाब्लो गाभीलाई पनि एक खेलको प्रतिबन्ध र ३० हजार डलर जरिवाना तोकिएको छ। यी प्रतिबन्ध सम्बन्धित राष्ट्रिय टोलीका आगामी अन्तर्राष्ट्रिय खेलमा लागू हुनेछन्।

यससँगै अर्जेन्टिनी फुटबल संघलाई विश्वकपका विभिन्न खेलमा भएको अनुशासनहीन व्यवहार, विभेदकारी नाराबाजी तथा अन्य आचारसंहिता उल्लङ्घनका कारण कुल ३ लाख २१ हजार अमेरिकी डलर जरिवाना गरिएको छ।

आगामी दुई घरेलु अन्तर्राष्ट्रिय खेलमा ५० प्रतिशत दर्शक मात्र उपस्थित गराउने आदेशसमेत दिइएको छ। तीमध्ये एउटा खेल र एक लाख डलर जरिवानाको कार्यान्वयन भने परीक्षण अवधिका लागि स्थगित गरिएको छ।

फिफाका अनुसार जरिवानामध्ये एक लाख डलर विभेदविरुद्धको कार्यक्रम सञ्चालनमा खर्च गर्नुपर्नेछ। निर्णयविरुद्ध सम्बन्धित पक्षले पुनरावेदन गर्न सक्ने व्यवस्था पनि रहेको छ।