यी जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने

User Image Prime TV News ३ हप्ता अगाडि
Image of यी जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने

काठमाडौ । वर्षासँगै देशका विभिन्न जिल्लामा आज पनि आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार केही साना तथा ठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ। आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, सङ्खुवासभा, भोजपुर, दोलखा, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट र डोटीलगायत जिल्लामा बहने साना नदी तथा खोलामा बहाव बढ्ने पूर्वानुमान गरिएको छ।

यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ। विशेषगरी लगातार वर्षा भइरहेका क्षेत्रमा खोला तथा नदीको बहाव अचानक बढ्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ।

यसैगरी सप्तकोसी, नारायणी, त्रिशूली र सेतीलगायत केही ठूला नदीमा समेत पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले नदी तथा खोलाको आसपास र तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन तथा बाढीको जोखिम देखिए सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ।