कांग्रेसको वैधानिकता जोगिने गरी सर्वोच्चको फैसला आउनेमा विश्वस्त : विश्वप्रकाश शर्मा

User Image Prime TV News ३ हप्ता अगाडि
Image of कांग्रेसको वैधानिकता जोगिने गरी सर्वोच्चको फैसला आउनेमा विश्वस्त : विश्वप्रकाश शर्मा

काठमाडौ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्च अदालतबाट पार्टीको वैधानिकतामा असर नपर्ने गरी फैसला आउनेमा आफू विश्वस्त रहेको बताएका छन्।

शनिबार प्रदीप गिरिको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै शर्माले कांग्रेसले मंसिरभित्रै महाधिवेशन सम्पन्न गर्नुपर्ने संवैधानिक बाध्यता रहेको बताए। महाधिवेशन मंसिरभन्दा पछि धकेलिए पार्टीको वैधानिकतामाथि गम्भीर प्रश्न उठ्न सक्ने उनको भनाइ छ।

शर्माले सर्वोच्च अदालतका न्यायाधीशहरूले कांग्रेसको महाधिवेशन प्रक्रिया र पार्टीको वैधानिकतासम्बन्धी विषयलाई ध्यानमा राखेर फैसला गर्ने विश्वास व्यक्त गरे।

उनका अनुसार कांग्रेसको महाधिवेशन प्रक्रिया असोज १६ गतेदेखि सुरु गर्ने तयारी छ। निर्धारित समयमा महाधिवेशनको प्रक्रिया अघि बढ्न नसके मंसिरपछि पार्टीको वैधानिकतामाथि प्रश्न उठ्ने अवस्था आउन सक्ने उनले बताए।

नेपालको संविधानको धारा २६९ को उपधारा ४ मा राजनीतिक दलले पाँच वर्षभित्र महाधिवेशन गर्नुपर्ने व्यवस्था छ। विशेष परिस्थितिमा थप ६ महिनासम्म समय लिन सकिने संवैधानिक व्यवस्था रहेको छ। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १६ मा पनि यही व्यवस्था उल्लेख गरिएको छ।

शर्माले आन्तरिक विवादका कारण पार्टीको वैधानिकता नै संकटमा पार्न नहुने भन्दै सबै पक्षसँग संवाद गरेर निर्धारित मितिमै महाधिवेशन सम्पन्न गर्ने दिशामा कांग्रेस अघि बढ्नुपर्ने बताए।