सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित

User Image Prime TV News ३ हप्ता अगाडि
Image of सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित

काठमाडौ । सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाई संयोजक रहेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल’सँग १४ बुँदे सहमति गरेको छ।

शनिबार सिंहदरबारमा भएको वार्तापछि सरकार र महाअभियानबीच सहमति भएको हो। सहमति भएसँगै महाअभियानले यसअघि सञ्चालन गर्दै आएका धर्ना तथा आन्दोलनका सबै कार्यक्रम शनिबारदेखि नै अन्त्य गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

काठमाडौं उपत्यका प्रवेश गरी ललितपुरको पुल्चोकमा धर्ना दिइरहेका महाअभियानका प्रतिनिधि र सरकारले गठन गरेको वार्ता टोलीबीच सिंहदरबारमा छलफल भएको थियो। छलफलपछि सहमतिपत्रमा हस्ताक्षर गरिएको हो।

सरकारका तर्फबाट वार्ता टोलीका संयोजक तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव लिलाधर सुवेदी र महाअभियानका वार्ता समिति संयोजक विष्णु बोहोरा क्षेत्रीले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।

सहमतिअनुसार कालोसूचीमा परेका ऋणीको बैंक खातामा रहेको सामाजिक सुरक्षा भत्ता, औषधोपचार खर्च, निवृत्तिभरण तथा तलब रकम सञ्चालनमा बैंक तथा वित्तीय संस्थाले रोक लगाउन नपाउने व्यवस्था गरिने भएको छ।

त्यस्तै, लघुवित्त संस्थासँग सम्बन्धित कालोसूची तथा धितो लिलामसम्बन्धी विद्यमान व्यवस्थाको नेपाल राष्ट्र बैंकले पुनरवलोकन गर्ने सहमति भएको छ।

महाअभियानले उठाउँदै आएको कर्जा मिनाहसम्बन्धी मागका विषयमा तथ्यांक संकलन तथा विश्लेषण गरी कार्यान्वयन गर्न सकिने उपयुक्त विकल्प तयार गरिने भएको छ। त्यसका लागि अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा सम्बन्धित निकायमार्फत आवश्यक प्रक्रिया अघि बढाइने सहमतिमा उल्लेख छ।

सरकारसँग सहमति भएपछि महाअभियानले आन्दोलनका कार्यक्रम अन्त्य गर्ने निर्णय गरेको हो। सहमतिमा समेटिएका विषय कार्यान्वयनका लागि सम्बन्धित सरकारी निकायले आवश्यक प्रक्रिया अघि बढाउने जनाइएको छ।