बालेन सरकार पाँच वर्ष नटिक्ने ओलीको दाबी, ‘लोकतन्त्र फिर्ता ल्याउनुपर्छ’
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बालेन शाह नेतृत्वको सरकार पाँच वर्षसम्म टिक्न नसक्ने दाबी गरेका छन्।
शनिबार भक्तपुरको नगरकोटमा सुरु भएको एमालेको ‘जनसंगठन समन्वय संयन्त्र कार्यशाला’लाई सम्बोधन गर्दै ओलीले वर्तमान सरकार विदेशी शक्तिको आडमा चलेको आरोप लगाए। उनले सरकार कुन शक्तिको समर्थनमा चलेको भए पनि एमाले त्यसबाट नडराउने बताए।
ओलीले वर्तमान सरकारले विभिन्न तरिकाबाट बहुमत प्राप्त गरेको दाबी गर्दै उक्त बहुमत लामो समय टिक्न नसक्ने जिकिर गरे। उनले बालेन नेतृत्वको सरकार पाँच वर्षसम्म कुनै हालतमा नजाने दाबी गरे।
उनले अहिले संविधान मिचिएको र लोकतन्त्र अपहरणमा परेको आरोप लगाए। लोकतन्त्रलाई पुनः स्थापित गर्नुपर्ने भन्दै ओलीले त्यसका लागि एमालेले भूमिका खेल्नुपर्ने बताए।
सरकार र उसका समर्थकबाट समाजमा त्रासको वातावरण सिर्जना भइरहेको आरोप पनि ओलीले लगाए। सामाजिक सञ्जालमा सही कुरा लेख्दा समेत गालीगलौज र आक्रमणको सामना गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।
ओलीले एमालेका नेता तथा कार्यकर्तालाई सत्य, जनता र जनजीविकाका पक्षमा बोल्न डराउन नहुने निर्देशन दिए। एमाले बागमती प्रदेश जनसम्पर्क समन्वय संयन्त्रले आयोजना गरेको कार्यशालामा पार्टीका जनसम्पर्क समन्वय संयन्त्रका नेता तथा कार्यकर्ता सहभागी छन्।
दुई दिनसम्म चल्ने कार्यशालामा संगठनात्मक तथा समसामयिक विषयमा छलफल हुने जनाइएको छ।







