लोकतन्त्रको रक्षा गर्न राष्ट्रपतिसँग समेत संवाद गर्छौँ : शंकर पोखरेल

User Image Prime TV News ३ हप्ता अगाडि
Image of लोकतन्त्रको रक्षा गर्न राष्ट्रपतिसँग समेत संवाद गर्छौँ : शंकर पोखरेल

काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीको स्वेच्छाचारी तथा अधिनायकवादी कार्यशैली रोक्न राष्ट्रपतिसँग समेत संवाद गर्ने बताएका छन्।

शनिबार विराटनगरमा प्रेस चौतारी मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले प्रधानमन्त्रीले संसदीय लोकतन्त्रका आधारभूत स्तम्भलाई उपेक्षा गरेको र संसद्प्रति उत्तरदायी नबनेको आरोप लगाए।

उनले लोकतन्त्र र संविधानको रक्षाका लागि संसद्भित्र र बाहिर रहेका संविधान निर्माता दलहरूसँग सहकार्यको प्रयास भइरहेको बताए। प्रधानमन्त्रीको कार्यशैलीबारे राष्ट्रपतिसँग समेत संवाद गरेर लोकतन्त्रलाई सही मार्गमा ल्याउने प्रयास गरिने उनको भनाइ छ।

महासचिव पोखरेलले एमाले अहिले पार्टीलाई पुरानै अवस्थामा फर्काउने उद्देश्यले पुनर्संरचना र पुनर्गठनको प्रक्रियामा रहेको बताए। उनले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाउने पक्षमा आफूहरू नरहेको स्पष्ट पारे।

संस्थागत प्रक्रियाभन्दा बाहिरबाट पार्टी नेतृत्व परिवर्तन गर्न नसकिने भन्दै पोखरेलले नेतृत्व परिवर्तन सामाजिक सञ्जालको बहस, सार्वजनिक टीकाटिप्पणी वा बाहिरी छलफलबाट नहुने बताए। नेतृत्व परिवर्तनसम्बन्धी निर्णय गर्ने अधिकार केन्द्रीय कमिटीसँग रहेको उनले स्पष्ट पारे।

महाधिवेशन कहिले गर्ने भन्ने निर्णय गर्ने अधिकार पनि केन्द्रीय कमिटीमै रहेको पोखरेलले बताए। पार्टीमा रूपान्तरण आवश्यक रहेको स्वीकार गर्दै उनले जनतासँग टुटेको सम्बन्ध पुनः जोड्ने र कार्यकर्ताको गिर्दो मनोबल उठाउने विषयमा छलफल भइरहेको जानकारी दिए।

पार्टीका समस्याको अध्ययन र समाधानका लागि कार्यदल गठन गरिएको भन्दै उनले कार्यदलले दिने प्रतिवेदनका आधारमा आवश्यक निर्णय गरिने बताए ।