नेपाल–भारत सीमामा अपराध नियन्त्रणका लागि सुरक्षा समन्वय बढाउने सहमति

User Image Prime TV News ३ हप्ता अगाडि
Image of नेपाल–भारत सीमामा अपराध नियन्त्रणका लागि सुरक्षा समन्वय बढाउने सहमति

महोत्तरी । सीमापार अपराध तथा अवैध गतिविधि नियन्त्रणका लागि नेपाल र भारतका सीमावर्ती प्रशासन तथा सुरक्षा अधिकारीबीच सहकार्य थप मजबुत बनाउने सहमति भएको छ।

शनिबार महोत्तरीमा सम्पन्न नेपाल–भारत सीमावर्ती जिल्ला समन्वय समितिको बैठकमा लागुऔषध कारोबार, तस्करी, मानव बेचबिखन, अवैध आप्रवासन, अवैध हतियार ओसारपसार तथा सीमा स्तम्भ व्यवस्थापनलगायत विषयमा छलफल भएको हो।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र भारतको सीतामढीका जिल्ला अधिकारी तनय सुल्तानियाको संयुक्त अध्यक्षतामा बैठक बसेको थियो। बैठकमा यसअघि भएका निर्णयको कार्यान्वयन तथा प्रगतिको समेत समीक्षा गरिएको थियो।

बैठकमा महोत्तरी, सर्लाही र रौतहटका प्रशासनिक तथा सुरक्षा अधिकारीसँगै भारतको सीतामढीका सुरक्षा अधिकारी तथा प्रतिनिधिको सहभागिता थियो।

सीमापार हुने लागुऔषधको अवैध कारोबार नियन्त्रणलाई बैठकमा प्राथमिकताका साथ उठाइएको थियो। अपराध तथा तस्करी नियन्त्रण, अवैध हतियार र गोलीगठ्ठाको ओसारपसार रोक्ने तथा चोरी भएका सवारीसाधन र अन्य चोरीका सामान सीमापार हुन नदिने विषयमा दुवै देशका सुरक्षा निकायबीच समन्वय गर्ने सहमति भएको प्रजिअ यादवले बताए।

आवश्यकताअनुसार सम्बन्धित निकायबीच सूचना आदानप्रदान गर्ने तथा संयुक्त टोलीमार्फत निगरानी बढाउने विषयमा समेत छलफल भएको उनले जानकारी दिए।

बैठकमा नेपाली किसान मल खरिद गर्न भारत जाँदा पक्राउ परेको विषयसमेत नेपाली पक्षले उठाएको थियो। उक्त घटनाप्रति भारतीय पक्षले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सम्बन्धित सुरक्षा निकायलाई आवश्यक निर्देशन दिने र आगामी दिनमा सहज वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएको यादवले बताए ।