१४ बुँदे सहमतिपछि लघुवित्त ऋणीहरू घर फर्किए
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । सरकारसँग १४ बुँदे सहमति भएपछि लघुवित्तका ऋणीहरूले ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयबाहिर जारी धर्ना स्थगित गरेका छन्।
सहमतिपछि उनीहरू आइतबार बिहान आ–आफ्नो घरतर्फ फर्किएका हुन्। नेपाल सरकार र लघुवित्त ऋणीका प्रतिनिधिबीच शनिबार भएको वार्तामा १४ बुँदे सहमति जुटेपछि लामो समयदेखि जारी आन्दोलन स्थगित गर्ने निर्णय भएको हो। सहमतिपछि सरकारले ऋणीहरूलाई घर फर्काउन यातायातको व्यवस्था गरेको थियो।
आइतबार बिहान करिब ८:५० बजे साझा यातायातका बसमार्फत उनीहरूलाई गन्तव्यतर्फ पठाइएको थियो। विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा ३२३ जना ऋणीलाई आठ वटा बसमा राखेर बिदाइ गरिएको थियो। उनीहरूलाई झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासीलगायत जिल्लातर्फ पठाइएको छ।
लघुवित्त संस्थाबाट लिएको ऋण, ब्याज तथा असुली प्रक्रियालगायत विषयमा लामो समयदेखि असन्तुष्ट रहेका ऋणीहरूले विभिन्न माग राख्दै आन्दोलन गर्दै आएका थिए। सरकारसँग भएको पछिल्लो सहमतिले उनीहरूका माग सम्बोधन गर्ने प्रक्रियालाई अघि बढाउने अपेक्षा गरिएको छ।
१४ बुँदे सहमतिको कार्यान्वयन कसरी हुन्छ भन्ने विषय भने आगामी दिनमा महत्वपूर्ण हुने देखिएको छ। ऋणीहरूले सहमति कार्यान्वयनमा सरकारले प्रभावकारी कदम चाल्नुपर्ने अपेक्षा गरेका छन्।







