तीन कारोबार दिनमा सुनको भाउ १५ हजार ४ सय रुपैयाँ बढ्यो
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपाली बजारमा सुनको भाउ निरन्तर उकालो लागेको छ।
पछिल्लो तीन कारोबार दिनमै सुनको मूल्य तोलामा १५ हजार ४ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँ बढेर ३ लाख १९ हजार ५ सय रुपैयाँ पुगेको छ।
यसअघि शुक्रबार सुनको मूल्य तोलामा ९ हजार ३ सय रुपैयाँ बढेर ३ लाख १६ हजार ७ सय रुपैयाँ कायम भएको थियो। त्यसअघि पनि सुनको भाउ ३ हजार ३ सय रुपैयाँले बढेको थियो। यसरी पछिल्ला तीन कारोबार दिनमा सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको हो।
यद्यपि, सुनको मूल्य अझै हालसम्मकै उच्च बिन्दुभन्दा तल छ। गएको माघ १५ गते सुनको भाउ एकैदिन तोलामा २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो। यो नेपाली बजारमा सुनको अहिलेसम्मकै उच्च मूल्य हो।
चाँदीको भाउ घट्यो
सुनको मूल्य बढिरहँदा चाँदीको भाउ भने आज घटेको छ। महासंघका अनुसार चाँदी तोलामा १० रुपैयाँ घटेर ४ हजार ९ सय ७५ रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार चाँदीको मूल्य तोलामा १३० रुपैयाँ बढेर ४ हजार ९ सय ८५ रुपैयाँ पुगेको थियो।
नेपाली बजारमा चाँदीको हालसम्मकै उच्च मूल्य भने गएको माघ १५ गते कायम भएको थियो। त्यस दिन चाँदीको भाउ तोलामा ७ हजार ५०५ रुपैयाँ पुगेको थियो। यसैगरी, गएको माघ १८ गते चाँदीको मूल्य एकैदिन १ हजार ५६५ रुपैयाँले घटेको थियो, जुन नेपाली बजारमा चाँदीको मूल्यमा आएको हालसम्मकै ठूलो दैनिक गिरावट हो।







