छोराको हत्या भएको खबरपछि आमा मृत भेटिइन्
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । काठमाडौंमा छोराको हत्या भएको खबर सुनेपछि विक्षिप्त बनेकी दाङकी एक महिलाको घरमै मृत्यु भएको छ।
काठमाडौंको शंखमूलस्थित भ्याली ब्वाइज होस्टलमा शुक्रबार हत्या गरिएका २२ वर्षीय वसन्त कालाथोकीकी आमा ३८ वर्षीया बिना कालाथोकी घरमै मृत भेटिएकी हुन्। जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी डा. हेम केसीका अनुसार छोराको मृत्युको खबर पाएपछि बिना घरमै झुन्डिएको अवस्थामा भेटिएकी थिइन्।
प्रारम्भिक अनुसन्धानका आधारमा उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ। डीएसपी केसीका अनुसार बिनाका पति वैदेशिक रोजगारीका क्रममा मलेसियामा छन्। काठमाडौंमा छोराको हत्या भएको खबर पाएलगत्तै बिना मानसिक रूपमा विक्षिप्त बनेको प्रारम्भिक जानकारी प्रहरीले पाएको छ।
उनको शव पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
होस्टलमा कुटपिटपछि वसन्तको मृत्यु
काठमाडौंको शंखमूलस्थित भ्याली ब्वाइज होस्टलमा तीन युवकबीच भएको कुटपिटमा वसन्त गम्भीर घाइते भएका थिए। उपचारका लागि मिनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएका उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रहरीका अनुसार घटनामा बाराको कलैया उपमहानगरपालिका–३ का १८ वर्षीय शेखर यादव र २० वर्षीय प्रमित पटेल संलग्न रहेको आरोप छ। घटनामा संलग्न शेखरलाई प्रहरीले पक्राउ गरिसकेको छ भने अर्का आरोपित प्रमित फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
छोराको हत्या भएको खबरपछि आमाको समेत मृत्यु भएपछि घटनाले परिवारमा थप शोक निम्त्याएको छ। प्रहरीले दुवै घटनाको छुट्टाछुट्टै अनुसन्धान अघि बढाएको जनाएको छ।







