होर्मुज जलमार्गलाई ‘अमेरिकी भूभाग’ दाबी गर्दै ट्रम्प, इरानसँग तनाव चुलियो

User Image Prime TV News ३ हप्ता अगाडि
Image of होर्मुज जलमार्गलाई ‘अमेरिकी भूभाग’ दाबी गर्दै ट्रम्प, इरानसँग तनाव चुलियो

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज जलमार्गलाई ‘अमेरिकी भूभाग’का रूपमा दाबी गरेपछि अमेरिका र इरानबीचको तनाव थप चर्किएको छ।

ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा होर्मुज जलमार्गको नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘नयाँ अमेरिकी भूभाग’का रूपमा उल्लेख गरेका छन्। इरानले भने अमेरिकाले आफ्नो नीति परिवर्तन नगरेसम्म जलमार्ग बन्द राख्ने अडान दोहोर्‍याइरहेका बेला ट्रम्पको पछिल्लो अभिव्यक्ति आएको हो।

यसअघि अगस्ट १४ मा लङ आइल्यान्डस्थित प्रहरी एकेडेमीमा आयोजित कार्यक्रममा ट्रम्पले चाँडै होर्मुज जलमार्गलाई अमेरिकी भूभाग घोषणा गर्ने बताएका थिए। त्यसपछि अगस्ट १८ मा पनि उनले सोही जलमार्गको नक्सा सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए।

इरानको कडा आपत्ति

ट्रम्पको दाबीप्रति इरानले कडा आपत्ति जनाएको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले अमेरिकाले होर्मुज जलमार्ग खुलाउन नसक्ने दाबी गरेका छन्। उनले वासिङ्टन र होर्मुज जलमार्गबीचको दूरी सात हजार माइलभन्दा बढी रहेको उल्लेख गर्दै अमेरिकी दाबीको आलोचना गरेका छन्।

इरानी अधिकारीहरूले होर्मुज जलमार्गमाथि कुनै पनि एकपक्षीय दाबी अन्तर्राष्ट्रिय कानुनविपरीत हुने बताएका छन्।

यसैबीच अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानविरुद्ध ‘इतिहासकै सबैभन्दा कडा प्रतिबन्ध’ लगाउने तयारी गरिरहेका छन्। अमेरिकाले इरानी तेलको प्रमुख खरिदकर्ता चीनलाई समेत प्रतिबन्ध अभियानमा सहयोग गर्न आग्रह गरेको छ।

इरानी परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले प्रस्तावित अमेरिकी प्रतिबन्धको विरोध गर्दै त्यसलाई अन्य स्वतन्त्र राष्ट्रमाथि अमेरिकी क्षेत्राधिकार लाद्ने प्रयास भएको बताएका छन्। उनले अमेरिकी आर्थिक दबाबमा सहभागी हुने छिमेकी मुलुकहरूलाई इरानले ‘शत्रु’का रूपमा व्यवहार गर्ने चेतावनीसमेत दिएका छन्।

होर्मुज जलमार्ग विश्वको महत्वपूर्ण ऊर्जा व्यापार मार्गमध्ये एक भएकाले यस क्षेत्रमा बढ्दो तनावले अन्तर्राष्ट्रिय बजारमा समेत असर पार्न सक्ने चिन्ता बढेको छ। जलमार्गमा आवागमन अवरुद्ध भएमा विशेषगरी तेल तथा ग्यासको आपूर्ति र मूल्यमा दबाब पर्न सक्ने देखिन्छ।

ट्रम्पको पछिल्लो दाबी र इरानको कडा प्रतिक्रियाले अमेरिका–इरान तनावलाई नयाँ चरणमा पुर्‍याएको छ। अब अमेरिकाले प्रस्तावित प्रतिबन्ध र होर्मुजसम्बन्धी आफ्नो नीति कसरी अघि बढाउँछ भन्ने विषयले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय बजारको आगामी अवस्थालाई प्रभावित गर्न सक्नेछ।