देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, गत वर्षभन्दा करिब २ प्रतिशतले वृद्धि
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । यस वर्ष देशभर धान रोपाइँको अवस्था उत्साहजनक देखिएको छ।
कृषि विभागको पछिल्लो तथ्याङ्कअनुसार देशभर धानखेती योग्य जमिनको ९८ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ। विभागका अनुसार हालसम्म देशभर १३ लाख ४१ हजार ७ सय ६४ हेक्टर क्षेत्रफलमा धान रोपिसकिएको छ।
गत वर्षको यही अवधिमा ९६.०८ प्रतिशत क्षेत्रमा मात्रै रोपाइँ सम्पन्न भएको थियो। यस वर्ष गत वर्षको तुलनामा रोपाइँको दर करिब २ प्रतिशतले बढेको हो। प्रदेशगत रूपमा हेर्दा सुदूरपश्चिम प्रदेश रोपाइँमा सबैभन्दा अगाडि छ। त्यहाँ १ लाख ५४ हजार ९ सय ५० हेक्टर क्षेत्रफलमा शतप्रतिशत रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ।
त्यस्तै, कर्णालीमा ९८.५० प्रतिशत, मधेशमा ९८.१० प्रतिशत र लुम्बिनीमा ९७.८७ प्रतिशत धान रोपाइँ सकिएको छ। मधेश प्रदेशमा भने गत वर्षको तुलनामा उल्लेख्य सुधार देखिएको छ। गत वर्ष यही अवधिमा मधेशमा ८६.३५ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएकोमा यस वर्ष यो दर बढेर ९८.१० प्रतिशत पुगेको हो।
अन्य प्रदेशमा बागमतीमा ९७.८२ प्रतिशत, कोशीमा ९७ प्रतिशत र गण्डकीमा ९६.६८ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ। कृषि विभागका अनुसार समयमै मनसुन सक्रिय हुनु तथा कृषि प्रसारसम्बन्धी गतिविधिमा देखिएको सक्रियताले यस वर्ष धान रोपाइँको गति बढाउन सहयोग गरेको छ।
समयमै रोपाइँ सम्पन्न भएकाले यस वर्ष धान उत्पादनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। यद्यपि, अब धानबालीको उत्पादनमा मनसुनको अवस्था, मलखादको उपलब्धता, रोग–कीरा तथा मौसमजन्य जोखिमले महत्वपूर्ण भूमिका खेल्नेछन्।







