पार्टी एकताका लागि गगन थापासँग छलफल गर्ने देउवाको संकेत
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्र एकता कायम गर्न सभापति गगन थापासँग छलफल गर्ने बताएका छन्।
आइतबार बिहान देउवा निवास पुगेका डडेलधुराका कांग्रेस पूर्वसभापति कर्ण मल्लसँगको भेटमा देउवाले पार्टीलाई एकताबद्ध बनाएर आगामी १५औँ महाधिवेशनतर्फ अघि बढाउन आफूले पहल गर्ने संकेत दिएका हुन्।
मल्लका अनुसार उनले देउवासँग पार्टीको अभिभावकीय भूमिका निर्वाह गर्दै सबै पक्षलाई समेटेर १५औँ महाधिवेशन सम्पन्न गर्न आग्रह गरेका थिए। देउवा त्यस विषयमा सकारात्मक देखिएको मल्लले बताए।
मल्लले देउवालाई पार्टीभित्र देखिएको असमझदारी अन्त्य गरी सबै पक्षलाई मिलाएर महाधिवेशनको वातावरण बनाउन आग्रह गरेका थिए। त्यस क्रममा देउवाले सभापति गगन थापासँग पार्टी एकताका विषयमा छलफल गर्ने बताएका थिए।
मल्लका अनुसार उपचारपछि फर्किएका देउवाको स्वास्थ्य अवस्थाबारे बुझ्न उनी निवास पुगेका थिए। भेटमा देउवाको स्वास्थ्य अवस्था ठीक रहेको पाएको उनले बताए। देउवा र मल्लबीच पछिल्लो समय राजनीतिक सम्बन्धमा दूरी बढेको थियो। मल्लले आफूहरूबीच राजनीतिक सम्बन्ध विच्छेदजस्तै अवस्था रहेको भए पनि स्वास्थ्य अवस्थाबारे जानकारी लिन भेट्न गएको बताए।
मल्ल डडेलधुरामा दुई पटक नेपाली कांग्रेसको जिल्ला सभापति भइसकेका छन्। पछिल्लो समय भने उनको पूर्वसभापति देउवासँग राजनीतिक सम्बन्ध चिसिएको थियो। पार्टीको आगामी महाधिवेशनलाई केन्द्रमा राखेर कांग्रेसभित्र विभिन्न समूहबीच सहमति र एकताको प्रयास भइरहेका बेला देउवाले सभापति थापासँग संवाद गर्ने संकेत दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।







