रणनीति बिर्सेर सत्ता समीकरणमा अल्झिँदा पार्टी कमजोर भयो : प्रचण्ड
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले आफ्नो वर्गीय आधार, मूल विचार र दीर्घकालीन रणनीतिलाई नजरअन्दाज गर्दा पछिल्लो समय कमजोर बनेको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले पार्टीको मुख्य ध्यान विचार र रणनीतिभन्दा सत्ता समीकरण बनाउने तथा भत्काउनेतर्फ केन्द्रित हुनु गम्भीर त्रुटि भएको बताए। उनले आफूहरू पछिल्लो समय ‘कार्यनीतिमा बढी अल्झिएको’ स्वीकार गर्दै सत्ता समीकरण निर्माण र विघटन नै राजनीतिको केन्द्रबिन्दु बन्न पुगेको बताए।
प्रचण्डका अनुसार जनयुद्धका क्रममा पार्टीले सामन्तवाद परास्त गर्ने स्पष्ट रणनीति बनाएर त्यसलाई हासिल गर्न आवश्यक कार्यनीति तय गरेको थियो। त्यही कारण जनयुद्धमा सफलता प्राप्त भएको उनको भनाइ छ। तर अहिले रणनीतिलाई कार्यनीति र कार्यनीतिलाई रणनीतिका रूपमा प्रयोग गर्दा पार्टी राजनीतिक रूपमा अन्योलमा परेको उनले बताए।
प्रचण्डले पार्टीको दस्तावेज र भाषणमा जनताका विषय उठाइए पनि व्यवहारमा जनतासँगको सम्बन्ध कमजोर हुँदै गएको बताए। उनले भने, ‘किताबमा लेखे पनि र भाषणमा बोले पनि हाम्रो जनतासँगको सम्बन्ध कमजोर हुँदै गयो, यही हाम्रो मुख्य त्रुटि भयो।’
जनतासँगको सम्बन्ध कमजोर हुनु नै पार्टीको पछिल्लो राजनीतिक समस्याको प्रमुख कारण भएको उनको भनाइ थियो। प्रचण्डले आफ्नो पार्टीले कार्यनीतिक विषयमै बढी समय खर्च गरिरहेका बेला राजनीतिक विपक्षीहरूले भने दीर्घकालीन रणनीतिमा ध्यान दिएको दाबी गरे।
उनका अनुसार विपक्षीहरू नेपालबाट कम्युनिस्ट शक्तिलाई कमजोर बनाउने वा समाप्त पार्ने रणनीतिमा केन्द्रित भए, जबकि कम्युनिस्ट पार्टीहरू भने तत्कालीन सत्ता समीकरणमै अल्झिए। प्रचण्डको पछिल्लो अभिव्यक्तिले नेकपाले आगामी दिनमा सत्ता केन्द्रित राजनीतिभन्दा आफ्नो वैचारिक आधार, वर्गीय सम्बन्ध र दीर्घकालीन राजनीतिक रणनीतिलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याएको छ।







