पूर्वराजा ज्ञानेन्द्रसँग धवल शमशेरको डेढ घण्टा भेट, ‘सबै मिलेर जाँदा राम्रो’ भन्ने सुझाव
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । राप्रपाबाट अलग भएर नयाँ राजनीतिक दल गठन गरेका धवल शमशेर राणाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरी पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराएका छन्।
शनिबार काठमाडौंस्थित सोल्टी होटलमा आयोजित हिमानी ट्रस्टको कार्यक्रममा राणाले पूर्वराजा ज्ञानेन्द्रसँग करिब डेढ घण्टा कुराकानी गरेका हुन्। हिमानी ट्रस्टकी अध्यक्ष हिमानी शाहको निमन्त्रणामा कार्यक्रममा सहभागी भएका राणाको मुख्य उद्देश्य पूर्वराजालाई भेटेर आफूले पछिल्लो समय व्यहोरेका राजनीतिक घटनाक्रमबारे जानकारी गराउनु रहेको उनीनिकट स्रोतले जनाएको छ।
राणाले कार्यक्रमको डिनरका क्रममा होटलको एक कुनामा पूर्वराजासँग बसेर कुराकानी गरेका थिए। त्यस क्रममा उनले राप्रपासँग सम्बन्ध विच्छेद गर्नुको कारण, पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैली, राप्रपाका पछिल्ला राजनीतिक एजेन्डा तथा गतिविधिबारे आफ्नो धारणा राखेका थिए।
राणाले राजतन्त्र पुनर्स्थापनाको आन्दोलनमा राप्रपाले अपेक्षित सहयोग नगरेको गुनासोसमेत पूर्वराजासमक्ष राखेको बताइएको छ। उनले १५ चैत २०८१ मा भएको तीनकुने आन्दोलनका क्रममा राप्रपाको भूमिकाप्रति असन्तुष्टि जनाउँदै आफूहरू पक्राउ पर्दासमेत पार्टीबाट आवश्यक सहयोग नपाएको बताएका थिए।
राप्रपासँग अलग हुनुपर्ने कारणबारे उनले पूर्वराजालाई लामो विवरण सुनाएको स्रोतको भनाइ छ। राप्रपाबाट अलग भएपछि राणाले दुर्गा प्रसाईसँग मिलेर नयाँ पार्टी बनाउने सहमति गरेका थिए। दुई पक्षबीच लिखित सहमति भए पनि त्यो लामो समय टिक्न सकेन। पार्टी दर्ताको समयसम्म राणा र प्रसाईबीच राजनीतिक दूरी बढिसकेको थियो।
त्यसपछि राणाले ‘जय नेपाली पार्टी’ दर्ता गरेका हुन्। पार्टी दर्तापछि उनी संगठन विस्तार र राजनीतिक गतिविधि अघि बढाउने तयारीमा छन्। राणाले आफ्ना कुरा राखिरहँदा पूर्वराजा ज्ञानेन्द्रले भने अधिकांश समय सुनेर मात्रै प्रतिक्रिया दिएको स्रोतको दाबी छ।
कुराकानीका क्रममा ज्ञानेन्द्रले भने ‘सबै मिलेर जाँदा राम्रो हुन्छ’ भन्ने आशय व्यक्त गरेका थिए। एजेन्डा मिल्ने राजनीतिक शक्तिहरूबीच एकता र सहकार्य भए त्यसले शक्ति निर्माण गर्न सक्ने उनको संकेत थियो। त्यसैगरी, राणालाई आफ्नो साथ र शुभकामना रहेको सन्देशसमेत पूर्वराजाले दिएका थिए।
राणाले राप्रपासँग सम्बन्ध टुट्नुका कारण सुनाउँदै दुर्गा प्रसाईंसँग पनि सहकार्य अघि बढ्न नसकेको जानकारी गराएका थिए। प्रसाईंसँग किन मिल्न नसकिएको भन्ने विषयमा राणाले विस्तृत कारण नदिई सँगै अघि बढ्न नसकेको बताएका थिए। त्यस क्रममा पूर्वराजा ज्ञानेन्द्र मुस्कुराएको राणानिकट स्रोतले जनाएको छ।
राप्रपाबाट अलग भएपछि नयाँ दल गठन गरेका राणाको पूर्वराजासँगको यो भेटलाई आगामी राजनीतिक सहकार्य र राजतन्त्र पुनर्स्थापनासम्बन्धी अभियानमा सम्भावित समीकरणका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ। यद्यपि, भेटमा कुनै औपचारिक राजनीतिक सहमति वा निर्णय भने नभएको स्रोतले जनाएको छ।







