जेनजी सहिद परिवार र घाइतेको सरकारलाई अल्टिमेटम, माग पूरा नभए फेरि सडकमा उत्रिने चेतावनी

User Image Prime TV News ३ हप्ता अगाडि
Image of जेनजी सहिद परिवार र घाइतेको सरकारलाई अल्टिमेटम, माग पूरा नभए फेरि सडकमा उत्रिने चेतावनी

काठमाडौ । जेनजी आन्दोलनका सहिद परिवार र घाइतेहरूले आफ्ना माग तत्काल सम्बोधन गर्न सरकारलाई अल्टिमेटम दिएका छन्।

माग पूरा गर्न सरकारले ठोस पहल नगरे पुनः सडक संघर्षमा उत्रिने उनीहरूले चेतावनी दिएका छन्। जेनजी सहिद परिवार कल्याणकारी समाज र घाइते जेनजी नेपाल संयुक्त संघर्ष समितिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारप्रति असन्तुष्टि जनाएका हुन्।

पत्रकार सम्मेलनमा जेनजी सहिद श्रीयम चौलागाईंका पिता तथा जेनजी सहिद परिवार कल्याणकारी समाजका कोषाध्यक्ष गणेशप्रसाद चौलागाईंले सरकारले सहिद परिवार र घाइतेका माग सम्बोधनमा गम्भीरता नदेखाएको आरोप लगाए।

उनका अनुसार गृहमन्त्री सुधन गुरुङले सरकार गठन भएको एक महिनाभित्र सहिद परिवार र घाइतेका सबै माग पूरा गर्ने आश्वासन दिएपछि आफूहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेका थिए। तर, निर्धारित समय बितिसक्दा पनि माग सम्बोधनमा ठोस प्रगति नभएको उनको भनाइ छ।

‘समिति बनाउने तर काम नगर्ने प्रवृत्ति भयो’

चौलागाईंले सरकारले माग सम्बोधनका लागि पटक–पटक समिति गठन गरे पनि ती समितिले गरेका निर्णय कार्यान्वयन हुन नसकेको बताए। यसले सरकारप्रतिको आफूहरूको विश्वास कमजोर हुँदै गएको उनको भनाइ छ।

उनले मन्त्रालयका सहसचिव, सहिद परिवार र घाइतेका प्रतिनिधि सहभागी समितिले टुंग्याएका विषय सरकारले हुबहु कार्यान्वयन गर्ने सुनिश्चितता माग्दा त्यसमा सरकार तयार नभएको आरोप लगाए।

घटना भएको १२ महिना बितिसक्दा पनि सरकारले आफूहरूलाई विश्वास गर्ने आधार निर्माण गर्न नसकेको उनले बताए। विगतमा सरकार र सहिद परिवार तथा घाइतेबीच भएका सहमति कार्यान्वयन नभएको भन्दै उनले अब आश्वासनका भरमा आन्दोलन स्थगित गर्न नसकिने स्पष्ट पारे।

भदौ २३ मा ‘स्मृति दिवस’

जेनजी आन्दोलनका सहिदको सम्झनामा आगामी भदौ २३ गते ‘स्मृति दिवस’ आयोजना गर्ने तयारी गरिएको छ। चौलागाईंका अनुसार बानेश्वरस्थित पुरानो संसद भवन परिसरमा स्मृति दिवस कार्यक्रम आयोजना गरिनेछ। कार्यक्रमको सम्पूर्ण व्यवस्थापन र खर्च सरकारले व्यहोर्नुपर्ने उनीहरूको माग छ।

सहिद परिवार तथा घाइतेहरू आर्थिक रूपमा कमजोर रहेको भन्दै उनले कार्यक्रमको व्यवस्थापनको जिम्मेवारी पनि सरकारले लिनुपर्ने बताए। सरकारले यसअघि नै प्रत्येक वर्ष भदौ २३ गतेलाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरिसकेको छ।

असोज १५ देखि सातदिने महायज्ञ

संयुक्त संघर्ष समितिले आगामी असोज १५ गतेदेखि पुरानो संसद भवन परिसरमै सातदिने महायज्ञ आयोजना गर्ने योजना पनि सार्वजनिक गरेको छ। महायज्ञको सम्पूर्ण व्यवस्थापन सरकारले गर्नुपर्ने माग उनीहरूले राखेका छन्।

सहिद परिवार र घाइतेहरूले सरकारले आफूहरूका माग तत्काल सम्बोधन नगरे आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएका छन्। उनीहरूले विगतका सहमति कार्यान्वयनसँगै आफूहरूले उठाएका मागमा सरकारबाट स्पष्ट निर्णय र कार्यान्वयनको सुनिश्चितता खोजेका छन्।