वर्तमान सरकार ‘निर्वाचित अधिनायकवाद’तर्फ उन्मुख : प्रदीप ज्ञवाली

User Image Prime TV News ३ हप्ता अगाडि
Image of वर्तमान सरकार ‘निर्वाचित अधिनायकवाद’तर्फ उन्मुख : प्रदीप ज्ञवाली

काठमाडौ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले वर्तमान सरकार ‘निर्वाचित अधिनायकवाद’तर्फ अघि बढिरहेको आरोप लगाएका छन्।

‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तर्क्रियामा बोल्दै ज्ञवालीले मुलुक अहिले अत्यन्तै असामान्य परिस्थितिबाट गुज्रिरहेको बताए। उनका अनुसार लामो राजनीतिक संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान, राष्ट्रियता तथा नागरिकले उपभोग गर्दै आएको लोकतान्त्रिक खुलापन गम्भीर संकटमा परेको छ।

ज्ञवालीले ठूलो जनादेशसहित सत्तामा पुगेको सरकारले पछिल्ला पाँच महिनामा अधिनायकवादी प्रवृत्ति देखाएको दाबी गरे। सरकारलाई नियन्त्रण र सन्तुलनमा राख्ने संस्थागत शक्ति कमजोर देखिएको उनको भनाइ छ।

उनले राष्ट्रपति संस्था, संसद्, न्यायालय, राजनीतिक दल तथा सञ्चारमाध्यमलगायत संस्थालाई सरकारले पर्याप्त महत्व नदिएको आरोप लगाए। सरकारको कार्यशैली बेलगाम रूपमा अधिनायकवादतर्फ अघि बढेको उनको टिप्पणी थियो।

ज्ञवालीले हालको संसदमा सरकारलाई रोक्न सक्ने बलियो राजनीतिक विकल्प नरहेको भन्दै चिन्ता व्यक्त गरे। हालै सम्पन्न निर्वाचनबाट सरकारले झन्डै दुईतिहाइ जनादेश प्राप्त गरेको उल्लेख गर्दै उनले यस्तो शक्ति सन्तुलनमा संविधानमा प्रतिगामी संशोधनको सम्भावनासमेत रहने बताए।

उनका अनुसार राष्ट्रिय सभाले ‘चेक एन्ड ब्यालेन्स’को भूमिका खेल्न सक्ने भए पनि प्रतिनिधिसभामा संविधान निर्माणका प्रमुख शक्तिहरूको प्रभाव पहिलेको तुलनामा कमजोर छ। ज्ञवालीले सरकारको बलियो बहुमतलाई लोकतान्त्रिक संस्थाहरूको सुदृढीकरणमा प्रयोग गर्नुपर्नेमा त्यसको दुरुपयोग हुन सक्ने जोखिम रहेको बताए।

उनले वर्तमान राजनीतिक अवस्थालाई सामान्य रूपमा लिन नहुने भन्दै लोकतान्त्रिक उपलब्धि र संवैधानिक व्यवस्थाको संरक्षणका लागि राजनीतिक दल तथा नागरिक समाज थप सचेत हुनुपर्ने धारणा राखे।