बारामा हत्या गरिएकी ३ वर्षीया गरिमा चौधरीको अन्त्येष्टि
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । बारामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको आइतबार अन्त्येष्टि गरिएको छ।
परिवार र सरकारबीच सहमति भएपछि चार दिनदेखि अस्पतालमा राखिएको उनको शव परिवारले बुझेर अन्तिम संस्कार गरेको हो। गत मंगलबारदेखि गरिमाको शव कलैया प्रादेशिक अस्पतालको शवगृहमा राखिएको थियो। घटनाको विरोधमा बुधबारदेखि बारा सदरमुकामसहित विभिन्न स्थानमा सडक संघर्ष हुँदै आएको थियो।
सरकार र पीडित परिवारबीच शनिबार मध्यराति सहमति भएपछि परिवारले आइतबार शव बुझेर अन्त्येष्टि गरेको हो। गरिमाको अन्त्येष्टि कलैया उपमहानगरपालिका–१४ बघवनस्थित पसाहा खोलामा गरिएको छ। हिन्दु परम्पराअनुसार उनका बुवा मनोज चौधरीले दागबत्ती दिएका थिए।
सरकारसँग सहमति गर्न शनिबार साँझ काठमाडौं पुगेका गरिमाका बुवा मनोज चौधरी र आमा मानमती चौधरी आइतबार मध्यान्ह काठमाडौं फर्किएका थिए। उनीहरू फर्किएपछि प्रहरीले परिवारलाई कलैया प्रादेशिक अस्पताल पुर्याएर शव बुझाउने प्रक्रिया अघि बढाएको थियो।
अन्त्येष्टिमा बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, प्रहरी उपरीक्षक नरेन्द्र कुँवरलगायत सुरक्षा अधिकारीहरूको समेत सहभागिता थियो। गरिमामाथि भएको जघन्य अपराधको घटनापछि दोषीलाई कडा कारबाही, घटनाको निष्पक्ष अनुसन्धान तथा पीडित परिवारका माग सम्बोधन गर्न माग गर्दै आन्दोलन भएको थियो ।







