प्रतिपक्षको भूमिका प्रभावकारी बनाउन कांग्रेस नेता–कार्यकर्ता सुसूचित हुनुपर्छ : गगन थापा
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिपक्षमा रहेको कांग्रेसले संसदमा जनसरोकारका विषयलाई प्रभावकारी ढंगले उठाउन नेता तथा कार्यकर्ता समसामयिक विषयमा सुसूचित हुनुपर्ने बताएका छन्।
आइतबार ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित ‘सुवर्णशमशेर इकोनोमिक सिरिज’ कार्यक्रममा बोल्दै थापाले संसदीय जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न तथा नीतिगत विषयमा स्पष्ट धारणा बनाउन यस्ता छलफल महत्वपूर्ण हुने बताए।
उनले कांग्रेसका नेता तथा कार्यकर्ता राजनीतिक विषयमा मात्र नभई आर्थिक, सामाजिक तथा समसामयिक विषयमा समेत ज्ञान हासिल गर्नुपर्नेमा जोड दिए। नयाँ विषयवस्तुबारे निरन्तर जानकारी राख्दा पार्टीको नीतिगत क्षमता बलियो हुने उनको भनाइ थियो।
सभापति थापाले कांग्रेस अहिले प्रतिपक्षको भूमिकामा रहेकाले संसदमा पार्टीका निश्चित जिम्मेवारी रहेको बताए। ती जिम्मेवारीलाई प्रभावकारी रूपमा निर्वाह गर्न गम्भीर छलफल र अध्ययन आवश्यक रहेको उनले उल्लेख गरे। उनका अनुसार पार्टीभित्र हुने यस्ता छलफलले नेता तथा कार्यकर्ताको जिज्ञासा र रुचि बढाउनुका साथै विभिन्न विषयमा व्यापक दृष्टिकोण बनाउन सहयोग पुर्याउनेछ।
थापाले कार्यक्रममा उठाइएका विषय तथा प्राप्त सुझावलाई आगामी दिनमा संसदमा समेत उठाउने प्रतिबद्धता व्यक्त गरे। उनले कांग्रेसले प्रतिपक्षको भूमिका केवल सरकारको आलोचनामा सीमित नगरी जनसरोकारका विषय, नीतिगत बहस र वैकल्पिक दृष्टिकोण प्रस्तुत गर्ने दिशामा अघि बढ्नुपर्ने संकेत गरेका छन्।







