भूमिसम्बन्धी समस्या समाधानमा तीनै तहका सरकार जिम्मेवार हुनुपर्छ : मन्त्री रावल
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिसम्बन्धी समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय तह तीनै सरकार जिम्मेवार हुनुपर्ने बताएकी छन्।
आइतबार कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री रावलले भूमिसम्बन्धी समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताइन्। उनले समस्या समाधानका लागि प्रदेश र स्थानीय सरकारबाट पनि आवश्यक सहयोग र समन्वय हुनुपर्नेमा जोड दिइन्।
मन्त्री रावलले एउटा तहको सरकारले आवश्यक सहयोग नगर्दा त्यसको प्रत्यक्ष असर स्थानीय तहमा पर्ने बताइन्। उनले भनिन्, ‘एउटा सरकारले सहयोग नगर्दा पुरै पालिकामा सुकुम्बासीको लालपूर्जा वितरण रोकिन सक्छ।’
उनका अनुसार स्थानीय तहमा देखिएका भूमिसम्बन्धी समस्या समाधान गर्न आवश्यक नीतिगत सुधारका विषयमा समेत छलफल भइरहेको छ। मन्त्री रावलले भूमिसम्बन्धी समस्याबाट पीडित नागरिकका विषय समयमै सरकारको जानकारीमा आए समाधानको प्रक्रिया अघि बढाउन सहज हुने बताइन्।
उनले राजनीतिक आस्था फरक भए पनि भूमिसम्बन्धी समस्याबाट पीडित नागरिकको न्यायोचित अधिकारका विषयमा सबै पक्ष एक ठाउँमा उभिनुपर्ने धारणा राखिन्। ‘पीडितका हकमा जुनसुकै दलमा आस्था राख्ने भए पनि हामी एक ठाउँमा हुनुपर्छ,’ उनले भनिन्।
भूमिसम्बन्धी समस्या न्यायोचित रूपमा सम्बोधन हुने भन्दै उनले पीडित नागरिकलाई ढुक्क रहन आग्रह गरिन् ।







