रास्वपा सभापति लामिछानेको निर्देशन : ‘बितेका ३५ वर्षको होइन, अबको ३५ वर्षको योजना ल्याउनुस्’

User Image Prime TV News ३ हप्ता अगाडि
Image of रास्वपा सभापति लामिछानेको निर्देशन : ‘बितेका ३५ वर्षको होइन, अबको ३५ वर्षको योजना ल्याउनुस्’

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेता तथा कार्यकर्तालाई विगतको समीक्षा मात्र गरेर बस्नुभन्दा आगामी ३५ वर्षको योजना बनाउन निर्देशन दिएका छन्।

आइतबार आयोजित ‘पार्टीको नीति, संगठन र नेतृत्व’ विषयक कार्यशालालाई सम्बोधन गर्दै लामिछानेले अब देशको भविष्यबारे स्पष्ट योजना बनाउनुपर्ने बताएका हुन्।

उनले विगत ३५ वर्षको हिसाब खोजेर मात्र बस्ने समय सकिएको भन्दै अबको ३५ वर्षमा देशलाई कहाँ पुर्‍याउने भन्ने योजना आवश्यक रहेको बताए।

“अब बितेका ३५ वर्षको हिसाबको कुरा गर्ने होइन साथीहरू, अबको ३५ वर्षको योजना ल्याउनुस्,” लामिछानेले भने।

उनले विगतमा भएका कामको आलोचना गर्दै बस्नुभन्दा आगामी दिनमा राम्रो काम गर्नुपर्नेमा जोड दिए। केही गर्न नसके पनि नराम्रो काम नगर्न नेता कार्यकर्तालाई आग्रह गर्दै उनले रास्वपालाई नागरिकले गरेको विश्वास कुनै हालतमा कमजोर हुन नदिन निर्देशन दिए।

लामिछानेले पार्टीका नेता तथा कार्यकर्तालाई लोकतन्त्रविरोधी गतिविधि र अभिव्यक्तिबाट टाढा रहनसमेत सचेत गराए। आफ्ना अभिव्यक्ति र गतिविधिले लोकतान्त्रिक व्यवस्थालाई कमजोर पार्ने अवस्था आउन नहुने उनको भनाइ थियो।

“हाम्रा अभिव्यक्ति र क्रियाकलापले लोकतन्त्रलाई कमजोर बनाउने काम नगरोस्,” उनले भने।

सभापति लामिछानेले पार्टीभित्र कहिलेकाहीँ आफ्नै परिवारका सदस्यलाई समेत सम्झाउनुपर्ने अवस्था आउने बताए। यस्तो आग्रह असन्तुष्टिका कारण नभई पार्टी र देशप्रतिको चिन्ताका कारण भएको उनले स्पष्ट पारे।

उनले अहिले सरकार मात्र नभई प्रतिपक्ष पनि बलियो रहेको उल्लेख गर्दै रास्वपाले आफ्नो भूमिका र जिम्मेवारीलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए।