बागमतीका मुख्यमन्त्री थापामगरले आज विश्वासको मत लिँदै

User Image Prime TV News ३ हप्ता अगाडि
Image of बागमतीका मुख्यमन्त्री थापामगरले आज विश्वासको मत लिँदै

काठमाडौ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। विश्वासको मत लिन दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको छ।

मुख्यमन्त्री थापामगरले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मत लिन लागेका हुन्।

सत्ता साझेदार नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना २६ जना प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ। नेकपा संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले सांसदहरूलाई अनिवार्य रूपमा बैठकमा उपस्थित भई विश्वासको मतको पक्षमा मतदान गर्न निर्देशन दिएका छन्।

मुख्यमन्त्रीको आफ्नै दल नेकपा एमालेले पनि सांसदहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन र विश्वासको मतको पक्षमा मतदान गर्न निर्देशन दिएको छ।

तर, सरकारलाई समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी भित्र भने विवाद कायमै छ। राप्रपा बागमतीकी प्रमुख सचेतक कुमारी तामाङले आफ्ना सांसदलाई विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेकी छन्।

यता, सरकारमा सहभागी राप्रपाका खानेपानीमन्त्री राजु विष्टले तामाङलाई सरकार गठन हुनुअघि नै सचेतक पदबाट हटाइसकिएको दाबी गरेका छन्। राप्रपा बागमती संसदीय दलका नेता उद्धव थापाले तामाङलाई सचेतकबाट हटाएको उनको भनाइ छ।

एमाले, नेकपा र राप्रपाको समर्थनमा थापा मगर भदौ ४ गते बागमतीको मुख्यमन्त्री नियुक्त भएका थिए। तर, सरकार गठनमा राप्रपाले दिएको समर्थनलाई लिएर पार्टीभित्र विवाद चर्किएको छ।

पार्टी केन्द्रको निर्णयविपरीत मुख्यमन्त्रीलाई समर्थन गरेको भन्दै राप्रपाले संसदीय दलका नेता उद्धव थापामाथि कारबाही गरिसकेको छ। सरकारमा सहभागी राप्रपाका तीन मन्त्रीलाई समेत पार्टीको केन्द्रीय अनुशासन समितिले स्पष्टीकरण सोधेको छ।

बागमती प्रदेशसभामा राप्रपाका १२ सांसद रहेकाले उनीहरूको उपस्थिति र मतदानले मुख्यमन्त्री थापा मगरले विश्वासको मत पाउने वा नपाउने विषयमा विशेष चासो बढेको छ।