कोशीका मुख्यमन्त्री कार्कीले आज तेस्रोपटक विश्वासको मत लिँदै

User Image Prime TV News ३ हप्ता अगाडि
Image of कोशीका मुख्यमन्त्री कार्कीले आज तेस्रोपटक विश्वासको मत लिँदै

काठमाडौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज तेस्रोपटक प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। विश्वासको मतका लागि दिउँसो २ बजे प्रदेशसभा बैठक बोलाइएको छ।

प्रदेशसभा सचिव सुदर्शन खड्काका अनुसार विश्वासको मतसम्बन्धी सबै तयारी पूरा भएको छ। नेपाली कांग्रेसले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएपछि उनले पुनः विश्वासको मत लिन लागेका हुन्।

कांग्रेसले भदौ ३ गते समर्थन फिर्ता लिएको पत्र प्रदेशसभा सचिवालयमा दर्ता गराएको थियो। यसअघि एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सत्ता सहकार्य गर्ने तीनबुँदे सहमति भएको थियो। सोही सहमतिअनुसार गत सोमबार नयाँ मन्त्रीहरूले शपथ लिएका थिए।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार २०८१ वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले पहिलोपटक वैशाख ३१ गते विश्वासको मत लिएका थिए। त्यतिबेला उपस्थित ६२ प्रदेशसभा सदस्यमध्ये ५७ जनाले उनको पक्षमा मतदान गरेका थिए भने पाँच जना तटस्थ बसेका थिए।

त्यसपछि सत्ता समीकरण परिवर्तन भएपछि कार्कीले २०८१ असोज २ गते दोस्रोपटक विश्वासको मत लिएका थिए। दोस्रोपटकको मतदानमा कार्कीको पक्षमा ६६ र विपक्षमा १५ मत परेको थियो। मतदानमा ८३ सांसद सहभागी भएका थिए।

९२ सदस्यीय कोशी प्रदेशसभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेपाली कम्युनिस्ट पार्टीका १७, राष्ट्रिय प्रजातन्त्र पार्टीका पाँच र जनता समाजवादी पार्टीका एक सांसद छन्।

तेस्रोपटक विश्वासको मत लिन लागेका मुख्यमन्त्री कार्कीका लागि सत्ता गठबन्धनका दलहरूको समर्थन निर्णायक हुनेछ।