नेपाल ‘ए’ आज होबर्ट हुरिक्यान्ससँग भिड्दै
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ले आज होबर्ट हुरिक्यान्स एकेडेमीसँग प्रतिस्पर्धा गर्दैछ।
डार्विनस्थित मारारा ओभलमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ। प्रतियोगितामा लगातार दुई खेलमा पराजित भएको नेपाल ‘ए’ आज पहिलो जितको खोजीमा मैदान उत्रँदैछ।
नेपाल ‘ए’ यसअघि नर्दन टेरिटोरी स्ट्राइकसँग आठ विकेट र बंगलादेश हाई–परफर्मेन्ससँग नौ विकेटले पराजित भएको थियो। होबर्ट हुरिक्यान्स एकेडेमीको अवस्था पनि समान छ।
टोलीले यसअघि भिक्टोरिया क्रिकेट संघ–११ सँग पाँच विकेट र बंगलादेश हाई–परफर्मेन्ससँग तीन विकेटको हार बेहोरेको छ । त्यसैले आजको खेल दुवै टोलीका लागि प्रतियोगितामा पहिलो जित हासिल गर्ने अवसरका रूपमा रहेको छ।
नेपालले गत संस्करणमा पनि होबर्ट हुरिक्यान्ससँग प्रतिस्पर्धा गरेको थियो। त्यतिबेला सिनियर टोलीले खेलेको खेलमा नेपालले होबर्टलाई ६६ रनले पराजित गरेको थियो।
नेपाल ‘ए’ आजको खेलमा ब्याटिङ र बलिङ दुवैमा सुधार गर्दै प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ।







