बाबुराम भट्टराईलाई हिन्दुविरोधी देखाउने प्रयास भएको सचिवालयको आरोप
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई हिन्दुविरोधीका रूपमा चित्रित गर्ने उद्देश्यले सामाजिक सञ्जालमा भ्रामक सामग्री प्रचार भइरहेको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ।
भट्टराईको सचिवालयले केही स्वार्थप्रेरित व्यक्ति तथा समूहले राजनीतिक उद्देश्य पूरा गर्न धार्मिक आस्थालाई प्रयोग गरेको दाबी गरेको छ। पुराना भिडियो तथा अभिव्यक्तिलाई तोडमरोड गरी प्रस्तुत गर्ने, भ्रामक तस्वीर तथा पोस्टर बनाउने र सामाजिक सञ्जालमार्फत प्रचार गर्ने गतिविधि भइरहेको सचिवालयको भनाइ छ।
सचिवालयले यस्ता गतिविधिले धार्मिक घृणा र सामाजिक विभाजन बढाउन सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ। धर्मनिरपेक्ष हुनु कुनै धर्मको विरोध गर्नु नभएको पनि उसले स्पष्ट पारेको छ। सचिवालयका अनुसार धर्मनिरपेक्षताको मूल मर्म राज्यले सबै धर्म तथा आस्थाप्रति समान व्यवहार गर्नु र नागरिकलाई आफ्नो धर्म मान्ने, आस्था राख्ने वा नराख्ने स्वतन्त्रता सुनिश्चित गर्नु हो।
त्यसैले धर्मनिरपेक्षतालाई कुनै धर्म वा धार्मिक समुदायविरुद्धको गतिविधिका रूपमा प्रस्तुत गर्नु अनुचित हुने सचिवालयको भनाइ छ। भट्टराईको सचिवालयले सामाजिक सञ्जालमा यस्ता भ्रामक सामग्रीको प्रचार–प्रसार गर्ने गतिविधिमाथि निगरानी गर्न नेपाल सरकारसँग आग्रहसमेत गरेको छ।
सचिवालयले पछिल्लो गतिविधिलाई राजनीतिक स्वार्थका लागि धार्मिक संवेदनशीलताको प्रयोग गर्ने प्रयासका रूपमा व्याख्या गर्दै यस्ता सामग्रीप्रति सचेत रहन आग्रह गरेको छ।







