लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई गगन थापाको आग्रह
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लामो समयदेखि सार्वजनिक हुन नसकेको लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग आग्रह गरेका छन्।
थापाले सामाजिक सञ्जालमार्फत लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने विषय फेरि उठेको उल्लेख गर्दै विगतका सरकारहरूले प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयन गर्न नसकेको बताएका छन्।
उनका अनुसार २०७४ सालदेखि नै हरेक वर्षजसो लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग उठ्दै आएको छ। राजनीतिक दलहरूले सरकारमा जानुअघि प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाउने गरे पनि सरकारमा पुगेपछि त्यसलाई कार्यान्वयन गर्न नसकेको थापाको भनाइ छ।
विगतका सरकारले प्रतिवेदन सार्वजनिक गर्न नसकेको कमजोरीलाई अहिलेको सरकारका लागि पनि ढिलाइ गर्ने आधार बनाउन नहुने उनले बताएका छन्। थापाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई अब थप विलम्ब नगरी प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरेका छन्। यसपटक विषय राजनीतिक प्रतिबद्धतामा मात्रै सीमित नभई व्यवहारमै कार्यान्वयन हुनुपर्ने उनको जोड छ।
घटना भएको एक दशक पुग्न लाग्दासमेत पीडितहरू न्याय पाउनबाट वञ्चित रहेको उल्लेख गर्दै थापाले प्रतिवेदन सार्वजनिक गरी न्यायको प्रक्रियालाई अघि बढाउनुपर्ने बताएका छन्।







