इरानविरुद्ध अहिलेसम्मकै ठूलो आर्थिक आक्रमण सुरु गर्ने अमेरिकाको घोषणा

User Image Prime TV News ३ हप्ता अगाडि
Image of इरानविरुद्ध अहिलेसम्मकै ठूलो आर्थिक आक्रमण सुरु गर्ने अमेरिकाको घोषणा

काठमाडौ । अमेरिकाले इरानविरुद्ध व्यापक आर्थिक दबाब बढाउने तयारी गरेको छ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानमाथि अहिलेसम्मकै ठूलो आर्थिक आक्रमण सुरु हुन लागेको बताएका छन्। बेसेन्टले सोमबार सामाजिक सञ्जाल एक्समार्फत राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा इरानको सैन्य तथा आणविक क्षमतामाथि ठूलो क्षति पुगेको दाबी गर्दै अब आर्थिक मोर्चामा निर्णायक कदम चालिने बताएका हुन्।

उनले अमेरिकाले इरानको आर्थिक जीवनरेखामाथि व्यापक दबाब सिर्जना गर्ने संकेत गरेका छन्। यद्यपि, बेसेन्टले तत्कालै लागू हुने नयाँ आर्थिक उपाय तथा प्रतिबन्धहरूको विस्तृत विवरण भने सार्वजनिक गरेका छैनन्। अमेरिकी ट्रेजरीले इरानसँग व्यापारिक सम्बन्ध कायम राख्ने देश तथा संस्थामाथि समेत दबाब बढाउने तयारी गरेको बताइएको छ।

यसबीच इरानले अमेरिकी नयाँ प्रतिबन्धको सामना गर्ने चेतावनी दिएको छ। इरानी अधिकारीहरूले अमेरिकी आर्थिक अभियान जारी रहे खाडी क्षेत्रबाट हुने तेल निर्यात रोक्न सक्ने चेतावनी दिएका छन्। स्ट्रेट अफ होर्मुजमा उत्पन्न हुने कुनै पनि अवरोधले विश्वव्यापी ऊर्जा बजारमा ठूलो असर पार्न सक्ने भएकाले पछिल्लो घटनाक्रमलाई अन्तर्राष्ट्रिय बजारले नजिकबाट नियालिरहेको छ।

अमेरिकाको नयाँ कदमको विवरण सार्वजनिक हुनुअघि नै विश्व बजारमा यसको प्रभाव देखिन थालेको छ। सोमबार एसियाली बजारमा लगानीकर्ताहरू अमेरिकी प्रतिबन्धको स्वरूप पर्खिरहेका थिए भने तेलको मूल्यमा केही गिरावट देखिएको थियो।