खानी तथा राहदानी विधेयकमा दर्जनौँ संशोधन प्रस्ताव, एकीकृत गर्ने काम हुँदै

User Image Prime TV News ३ हप्ता अगाडि
Image of खानी तथा राहदानी विधेयकमा दर्जनौँ संशोधन प्रस्ताव, एकीकृत गर्ने काम हुँदै

काठमाडौ । सङ्घीय संसद् प्रतिनिधिसभामा छलफलका क्रममा रहेका दुई महत्वपूर्ण विधेयकमा सांसदहरूले उल्लेख्य सङ्ख्यामा संशोधन प्रस्ताव दर्ता गराएका छन्।

संसद् सचिवालयका अनुसार ‘खानी तथा खनिज पदार्थ विधेयक’मा ३५ वटा र ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’मा १७ वटा संशोधन प्रस्ताव दर्ता भएका छन्। दुवै विधेयकमा गरी कुल ५२ वटा संशोधन प्रस्ताव परेका छन्।

सांसदहरूले दर्ता गराएका संशोधन प्रस्ताव एकल वा समूहगत रूपमा आएको भए पनि सचिवालयले अहिले तिनलाई वर्गीकरण तथा एकीकृत गर्ने काम गरिरहेको जनाएको छ। प्रस्तावहरूलाई व्यवस्थित गरेपछि मात्रै विधेयकमाथिको छलफललाई औपचारिक रूपमा अघि बढाइनेछ।

सङ्घीय संसद् सचिवालयको विधेयक शाखा (प्रतिनिधिसभा) का शाखा अधिकृत जयराम खड्काका अनुसार संशोधन प्रस्तावको आवश्यक प्रक्रिया पूरा गर्न केही समय लाग्नेछ। ‘हामी अहिले एकल वा समूहगत रूपमा प्राप्त भएका प्रस्तावहरूलाई एकीकृत गर्दैछौँ। यो प्रक्रिया पूरा भएपछि मात्रै छलफलका लागि अगाडि बढ्छ,’ खड्काले बताए।

संशोधन प्रस्तावको ठूलो सङ्ख्याले दुवै विधेयकका विभिन्न प्रावधानमाथि सांसदहरूले चासो र सुधारको आवश्यकता औँल्याएको देखिन्छ। अब सचिवालयले प्रस्तावहरू एकीकृत गरेपछि सम्बन्धित समितिको प्रक्रिया तथा प्रतिनिधिसभाको छलफलमार्फत विधेयकका प्रावधानहरूमा थप बहस हुने भएको छ।

विशेषगरी खानी तथा खनिज पदार्थसम्बन्धी कानुनी व्यवस्था र राहदानीसम्बन्धी प्रावधानमा सांसदहरूले राखेका संशोधनले विधेयकलाई अन्तिम रूप दिनुअघि थप राजनीतिक तथा नीतिगत बहस हुने संकेत गरेको छ।