उदयपुरमा १९९ किलो गाँजासहित टिपर चालक पक्राउ
Prime TV News ३ हप्ता अगाडि 
उदयपुर । उदयपुरको कटारी नगरपालिका–४ मरुवा खोला क्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक टिपर चालकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले ना.७ ख ८१७३ नम्बरको टिपर चेकजाँच गर्ने क्रममा १९९ किलो गाँजा बरामद गरेको हो। प्रहरीका अनुसार भदौ ७ गते राति करिब १ः४५ बजे बेतेनीबाट कटारीतर्फ आउँदै गरेको टिपरलाई मरुवा खोला क्षेत्रमा रोकेर चेकजाँच गर्दा गाँजा फेला परेको थियो।
गाँजासहित पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका–७ स्थायी ठेगाना भएका र हाल कटारी नगरपालिका–४ मा बस्दै आएका करिब २१ वर्षीय सोम मगर रहेका छन्। प्रहरीले बरामद गाँजा कहाँबाट ल्याइएको र कहाँ लैजान लागिएको थियो भन्ने विषयमा अनुसन्धान अघि बढाएको जनाएको छ।
घटनामा अन्य व्यक्तिको संलग्नता भए/नभएको विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। लागूऔषध ओसारपसारसम्बन्धी कसुरमा पक्राउ परेका मगरमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।







