परराष्ट्रमन्त्री खनाल असंलग्न आन्दोलनको स्मरणसभामा सहभागी हुन सर्बिया जाने
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । परराष्ट्रमन्त्री शिशिर खनाल आगामी १४ भदौमा सर्बिया जाने भएका छन्।
सर्बियाको राजधानी बेलग्रेडमा आयोजना हुने असंलग्न आन्दोलनको उच्चस्तरीय स्मरणसभामा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन्। १५ र १६ भदौमा आयोजना हुने ‘हाइलेभल कमेमोरेटिभ मिटिङ’ मा मन्त्री खनालको नेतृत्वमा तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डल सहभागी हुने भएको छ।
गत २६ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त स्मरणसभामा नेपालको सहभागिता जनाउने निर्णय गरेको थियो। सन् १९६१ मा बेलग्रेडमै असंलग्न आन्दोलनको पहिलो शिखर सम्मेलन आयोजना भएको थियो। पहिलो सम्मेलनको ६५औँ वार्षिकोत्सवका अवसरमा यस वर्ष बेलग्रेडमा उच्चस्तरीय स्मरणसभा आयोजना गर्न लागिएको हो।
स्मरणसभामा विभिन्न मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख, उच्चस्तरीय प्रतिनिधिमण्डल र असंलग्न आन्दोलनमा सहभागी राष्ट्रका प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। नेपालले आफ्नो परराष्ट्र नीति सञ्चालनको महत्वपूर्ण आधारका रूपमा असंलग्नताको सिद्धान्तलाई अंगीकार गर्दै आएको छ।
सर्बिया भ्रमणका क्रममा मन्त्री खनालले नेपालको परराष्ट्र नीतिका प्राथमिकता तथा अन्तर्राष्ट्रिय सहकार्यका विषयमा समेत धारणा राख्ने अपेक्षा गरिएको छ। मन्त्री खनाल १७ भदौमा सर्बियाबाट नेपाल फर्कने कार्यक्रम रहेको छ।







