दुर्गा प्रसाईको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा सरकारका नाममा कारण देखाऊ आदेश

User Image Prime TV News ३ हप्ता अगाडि
Image of दुर्गा प्रसाईको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा सरकारका नाममा कारण देखाऊ आदेश

काठमाडौ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईको बन्दी प्रत्यक्षीकरण रिटमा सरकारका नाममा ‘कारण देखाऊ’ आदेश जारी गरेको छ।

न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले प्रसाईकी श्रीमती उमा प्रसाईले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै उनलाई थुनामा राख्नुको कारण र कानुनी आधार खुलाउन विपक्षीका नाममा आदेश दिएको हो।

अदालतले प्रसाईंलाई थुनामुक्त गर्न किन आदेश जारी गर्नु नपर्ने हो भन्ने आधार र कारणसहितको लिखित जवाफ बाटाको म्यादबाहेक २४ घण्टाभित्र पेस गर्न भनेको छ। लिखित जवाफ महान्यायाधिवक्ताको कार्यालयमार्फत पेस गर्न आदेश दिइएको छ।

यसैगरी, अदालतले गत भदौ ४ गते प्रसाईंको घर खानतलासीका क्रममा बरामद गरिएको भनिएका सामग्रीसमेत आगामी पेसीका दिन अदालतमा पेस गर्न जिल्ला प्रहरी परिसर भक्तपुरलाई निर्देशन दिएको छ।

बन्दी प्रत्यक्षीकरण रिटमाथिको प्रारम्भिक सुनुवाइसँगै सर्वोच्चले प्रसाईंलाई थुनामा राख्नुको कानुनी आधारबारे सरकारसँग जवाफ मागेको हो। अब विपक्षीको लिखित जवाफ तथा अदालतमा पेस गरिने बरामद सामग्रीका आधारमा मुद्दा थप सुनुवाइ प्रक्रियामा अघि बढ्नेछ।