बालिका हत्या प्रकरणको सोधपुछ भिडियो सार्वजनिक भएपछि बारा प्रहरी छानबिनमा

User Image Prime TV News ३ हप्ता अगाडि
Image of बालिका हत्या प्रकरणको सोधपुछ भिडियो सार्वजनिक भएपछि बारा प्रहरी छानबिनमा

जनकपुर । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ दसधुरीकी ३ वर्षीया बालिका गरिमा चौधरीको हत्या प्रकरणमा पक्राउ परेका १६ वर्षीय किशोरसँग अस्पतालमा गरिएको सोधपुछको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरी अधिकारीमाथि समेत छानबिन सुरु भएको छ।

हातमा हतकडी लगाइएको अवस्थामा रहेका किशोरसँग अस्पतालमा स्वास्थ्य परीक्षणका क्रममा प्रश्न गरिएको भनिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी प्रधान कार्यालय र मधेश प्रदेश प्रहरी कार्यालयले घटनाबारे चासो देखाएका हुन्।

बालिका हत्या गरेको आरोपमा पक्राउ परेका किशोरले प्रहरीसमक्ष घटनामा आफ्नो संलग्नता स्वीकार गरेको र प्रदीप खड्का नाम गरेका साथीसँग मिलेर अपराध गरेको बयान दिएको स्रोतको दाबी छ। यद्यपि, भिडियोमा देखिएका सम्पूर्ण दृश्य तथा त्यसको वास्तविकताबारे प्रहरीले औपचारिक पुष्टि गरिसकेको छैन।

भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी नरेन्द्र कुँवर र डीएसपी मीनबहादुर घलेसँग समेत घटनाबारे सोधपुछ थालिएको स्रोतले जनाएको छ। संवेदनशील आपराधिक घटनाको अनुसन्धानका क्रममा तयार भएको भनिएको अडिओ–भिडियो सामग्री सामाजिक सञ्जालसम्म कसरी पुग्यो भन्ने विषयमा साइबर ब्युरोले डिजिटल ट्रेकिङमार्फत अनुसन्धान गरिरहेको बताइएको छ।

भाइरल भिडियोमा आरोपी किशोरसँगै दुई जना प्रहरीसमेत देखिन्छन्।

अनुसन्धानसँग सम्बन्धित सामग्री अनधिकृत रूपमा सार्वजनिक हुनु प्रहरीको आन्तरिक प्रोटोकल र अनुसन्धानको गोपनीयतासँग जोडिएको विषय भएकाले भिडियो सार्वजनिक गर्ने व्यक्तिसँगै उक्त सामग्री कसले उपलब्ध गरायो भन्नेबारे पनि अनुसन्धान भइरहेको स्रोतको भनाइ छ।

भिडियो चुहावटमा प्रहरीभित्रकै कुनै व्यक्तिको संलग्नता छ वा छैन भन्ने विषयसमेत छानबिनको दायरामा राखिएको बताइएको छ। प्रहरी प्रधान कार्यालय र मधेश प्रदेश प्रहरी कार्यालयले घटनाबारे छुट्टाछुट्टै रूपमा जानकारी लिइरहेका छन्।

यस विषयमा प्रतिक्रिया लिन जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी नरेन्द्र कुँवरसँग सम्पर्क गर्ने प्रयास गरिए पनि सम्पर्क हुन सकेन।