गरिमा चौधरी हत्या प्रकरणमा रास्वपा महामन्त्री आचार्यको प्रश्न : हामी कस्तो समाज बनाउँदैछौँ ?
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपीन आचार्यले बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीको हत्या प्रकरणमा राज्य र समाजको संवेदनशीलतामाथि प्रश्न उठाएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै आचार्यले घटनापछि मृतकका परिवार तथा अभियुक्तसँग सम्बन्धित भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भन्दै आपत्ति जनाएका हुन्। उनले संवेदनशील आपराधिक घटनाका पीडित परिवार र अभियुक्तसँग सम्बन्धित सामग्री सार्वजनिक गर्ने प्रवृत्तिले समाजको संवेदनशीलता र जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाएको बताए।
‘मृतकको बुवाआमाले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिचिन्छ र कतै मेडिकल गर्दै गर्दा अभियुक्तले बोलेका कुराहरूलाई सार्वजनिक तरिकाले पब्लिकमा राखिन्छ,’ उनले भने, ‘यस्तो समाज बन्द गरिनुपर्छ।’
आचार्यले घटनापछि पीडित परिवारको गोपनीयता र मर्यादा संरक्षण गर्नुका साथै अनुसन्धान प्रक्रियासँग सम्बन्धित संवेदनशील सामग्री अनधिकृत रूपमा सार्वजनिक हुन नदिन राज्य गम्भीर हुनुपर्ने बताए। उनले समाजमा बढ्दै गएको यस्तो प्रवृत्तिप्रति प्रश्न गर्दै भने, ‘हामीले कस्तो समाज बनाइरहेका छौँ ?’
उनको भनाइले गरिमा चौधरी हत्या प्रकरणमा अपराध अनुसन्धानसँगै पीडित परिवारको गोपनीयता, अभियुक्तको कानुनी अधिकार र संवेदनशील सामग्रीको सार्वजनिक प्रसारणबारे बहससमेत चर्काएको छ।







