मुख्यमन्त्री थापा मगरको नियुक्ति बदर गर्न माग गर्दै उच्च अदालतमा रिट
Prime TV News ३ हप्ता अगाडि 
हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्ति संविधान विपरीत भएको दाबी गर्दै नियुक्ति बदरको मागसहित उच्च अदालत पाटन, हेटौँडा इजलासमा रिट दायर भएको छ।
भदौ ५ गते अधिवक्ता मोहनप्रसाद ढकाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेशसभा संसदीय दलकी प्रमुख सचेतक कुमारी तामाङले छुट्टाछुट्टै उत्प्रेषण रिट दायर गरेका हुन्।रिटमाथि न्यायाधीश बबिता उप्रेतीको एकल इजलासमा पेसी तोकिएको छ र अहिले बहस भइरहेको बताइएको छ।
रिट निवेदकहरूले मुख्यमन्त्री नियुक्तिका लागि राप्रपा संसदीय दलका तत्कालीन नेता उद्धव थापाले पार्टीको नीति, निर्णय र निर्देशनविपरीत समर्थन गरेको दाबी गरेका छन्। राप्रपाको केन्द्रीय नेतृत्वले उक्त समर्थन आधिकारिक नरहेको जानकारी प्रदेश प्रमुखको कार्यालयलाई गराए पनि सोही समर्थनलाई आधार बनाएर मुख्यमन्त्री नियुक्त गरिएको रिटमा उल्लेख छ।
रिटमा प्रदेश प्रमुखको कार्यालय, प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेशसभा, सभामुख, मुख्यमन्त्री किरण थापा मगर, उद्धव थापा, नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता शालिकराम जम्कट्टेललाई विपक्षी बनाइएको छ।
प्रदेश प्रमुख देवकोटाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम भदौ ४ गते थापा मगरलाई बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त गरेका थिए। यसैबीच मुख्यमन्त्री थापा मगरले आज दिउँसो १ बजे प्रदेशसभाबाट विश्वासको मत लिने कार्यसूची रहेको छ।
मुख्यमन्त्रीको नियुक्तिविरुद्ध रिट परेकै दिन विश्वासको मत लिनुपर्ने अवस्था आएपछि बागमती प्रदेशको सत्ता समीकरण थप कानुनी र राजनीतिक विवादमा तानिएको छ।







