रास्वपा सांसद अमरेश सिंहको सरकारमाथि प्रश्न : जनतामा प्रभाव र विश्वास घट्दैछ

User Image Prime TV News ३ हप्ता अगाडि
Image of रास्वपा सांसद अमरेश सिंहको सरकारमाथि प्रश्न : जनतामा प्रभाव र विश्वास घट्दैछ

काठमाडौ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले सरकारप्रति जनताको प्रभाव र विश्वास घट्दै गएको बताएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सिंहले बाराकी तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या तथा सप्तरीमा भएको बालिका हत्याको घटनाले आफू मर्माहत भएको बताए। उनले पछिल्ला आपराधिक घटना र विभिन्न आन्दोलनले मुलुकको अवस्था गम्भीर बन्दै गएको संकेत गरेको धारणा राखे।

‘यो हाम्रो समाज, यो देश कता गइरहेको छ ?’ भन्दै उनले प्रश्न गरे।

सिंहले सरकार गठन भएयता भएका विभिन्न घटना र आन्दोलनलाई समेत सरकारप्रतिको जनविश्वाससँग जोडेर हेर्नुपर्ने बताए। कप्तानगञ्जको घटना, धार्मिक तथा सामाजिक सद्भावका विषय, विभिन्न आन्दोलन, मिटरब्याज पीडित, लघुवित्त पीडित तथा चिकित्सकका आन्दोलनलगायतका घटनाले सरकारप्रतिको जनविश्वास कमजोर हुँदै गएको उनको दाबी थियो।

‘यसले के देखाउँछ भने हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ,’ उनले भने।

उनले मुलुकमा अराजकता, अस्थिरता, हत्या, हिंसा र बलात्कारजस्ता घटना बढिरहेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए। यस्ता घटना तथा विभिन्न समूहका आन्दोलनले नेपाली जनता पीडामा रहेको देखाउने उनको भनाइ थियो। समाजमा बेतिथि बढ्दै जाँदा नागरिकको विश्वास र भरोसा कमजोर हुने तथा त्यसको परिणामस्वरूप अपराध बढ्न सक्ने सिंहले बताए।

उनले सरकारलाई तत्काल जनताको सुरक्षा, कानुनको प्रभावकारी कार्यान्वयन र राज्यप्रतिको विश्वास पुनःस्थापित गर्ने दिशामा गम्भीर भएर काम गर्न आग्रह गरे।