सेयर बजारमा दोहोरो अंकको गिरावट, नेप्से २५९९ अंकमा झर्यो
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९.१३ अंकले घटेर २ हजार ५९९.५८ बिन्दुमा रोकिएको छ। नेप्सेसँगै सोमबार कारोबार रकम र कारोबार भएको सेयर कित्तासमेत घटेको छ। आज ३५० कम्पनीका ८५ लाख ७२ हजार ९७० कित्ता सेयर कुल ३ अर्ब २३ करोड ९७ लाख ६० हजार रुपैयाँ बराबरमा किनबेच भएका छन्।
गत शुक्रबार १ करोड कित्ता सेयर ४ अर्ब १६ करोड ७१ लाख रुपैयाँ बराबरमा कारोबार भएको थियो। सोमबार कारोबारमा आएका १३ वटै उपसूचक राताम्य भएका छन्। हाइड्रोपावर उपसूचक सर्वाधिक १.१९ प्रतिशत घटेको छ भने निर्जीवन बीमा उपसूचक १.१२ प्रतिशतले ओरालो लागेको छ।
आज कुल २२९ कम्पनीको सेयर मूल्य घटेको छ भने ४७ कम्पनीको सेयर मूल्य बढेको छ। दुई कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन। बजार घटे पनि सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिजको सेयर मूल्य १४.९९ प्रतिशत बढेको छ। त्यस्तै धौलागिरी लघुवित्तको सेयर मूल्य ११.९८ प्रतिशतले उकालो लागेको छ।
यता पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.८३ प्रतिशतले घटेको छ। समग्र बजारमा बिक्री चाप बढ्दा सोमबार नेप्से परिसूचकसँगै कारोबार रकमसमेत खुम्चिएको छ।







