बलात्कारी र भ्रष्टाचारीलाई ‘अन द स्पट’ कारबाही हनुपर्छः खगेन्द्र सुनुवार

User Image Prime TV News ३ हप्ता अगाडि
Image of बलात्कारी र भ्रष्टाचारीलाई ‘अन द स्पट’ कारबाही हनुपर्छः खगेन्द्र सुनुवार

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले बलात्कारी र भ्रष्टाचारीलाई कडा कारबाही गर्ने कानुनी व्यवस्था तत्काल लागू गर्न सरकारसँग माग गरेका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुनारले प्रमाणित रूपमा दोषी ठहरिएका व्यक्तिलाई कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने बताए। उनले बलात्कार तथा हत्या जस्ता गम्भीर अपराधका घटना निरन्तर भइरहेकामा सरकारको ध्यानाकर्षण गराए।

विगतका बलात्कार तथा हत्याका घटनाको स्मरण गर्दै उनले समाजमा महिलाको सुरक्षा अझै सुनिश्चित हुन नसकेको बताए। ‘बलात्कार र हत्याको फेहरिस्त धेरै नाम सुनाउन सकिन्छ। घण्टौँसम्म सुनाउन सकिन्छ र लामो छलफल गर्न सकिन्छ,’ उनले भने, ‘तर हामीले गरिमाको गरिमा जोगाउन सक्छौँ कि सक्दैनौँ ? निर्मला पन्तको जन्ती जाने हो कि मलामी जाने हो ? त्यो छलफल गर्नुपर्ने बेलामा हामी पुगिसकेका छौँ।’

सुनारले बलात्कार, हत्या र भ्रष्टाचारजस्ता गम्भीर अपराधमा दोषी प्रमाणित भएकामाथि तत्काल र कठोर कानुनी कारबाही हुने व्यवस्था आवश्यक रहेको बताए। उनले देशका छोरीचेलीले सुरक्षित रूपमा बाँच्न र आफ्नो इच्छा तथा स्वतन्त्रताअनुसार जीवन बिताउन पाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।

‘चेलीहरूको बाँच्न पाउने र नाच्न पाउने अधिकार सुनिश्चित गर्नुपर्छ,’ उनले भने।

सांसद सुनारले गम्भीर अपराध नियन्त्रणका लागि कानुन मात्र बनाएर नहुने भन्दै त्यसको प्रभावकारी कार्यान्वयन र दोषीलाई दण्डित गर्ने राज्य संयन्त्र आवश्यक रहेको बताए।