प्रतिनिधिसभाको भदौ १५ देखि ३० गतेसम्मको पाक्षिक क्यालेण्डर स्वीकृत

User Image Prime TV News ३ हप्ता अगाडि
Image of प्रतिनिधिसभाको भदौ १५ देखि ३० गतेसम्मको पाक्षिक क्यालेण्डर स्वीकृत

काठमाडौ । प्रतिनिधिसभाको भदौ १५ देखि ३० गतेसम्मको पाक्षिक क्यालेण्डर स्वीकृत भएको छ।

सभामुख डोलप्रसाद अर्यालको सभापतित्वमा बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद्को पाक्षिक कार्यतालिका स्वीकृत गरेको हो। सभामुख अर्यालको सचिवालयका अनुसार बैठकले संसद्का कामकारबाहीलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने विषयमा छलफल गर्दै सदनमा विचाराधीन विषयलाई प्राथमिकताका आधारमा अघि बढाउने गरी क्यालेण्डर स्वीकृत गरेको हो।

स्वीकृत कार्यतालिकाअनुसार भदौमा प्रतिनिधिसभाको बैठक १५, १६, १७, २२, २३ र २४ गते बस्नेछ। बैठकमा संसद् बैठकलाई नियमित, मर्यादित र प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा समेत छलफल भएको थियो। त्यसैगरी, महत्वपूर्ण विधेयक तथा समसामयिक विषयलाई प्राथमिकताका साथ अघि बढाउने र संसदीय कामकारबाहीलाई थप व्यवस्थित बनाउने विषयमा समितिका सदस्यहरूले धारणा राखेका थिए।

पाक्षिक क्यालेण्डरमार्फत सदनका आगामी बैठक र कामकारबाहीलाई निश्चित कार्यतालिकाअनुसार अघि बढाउने तयारी गरिएको छ।