लुम्बिनी सरकारमा नेकपाबाट तीन मन्त्री थपिए, मन्त्रालयको जिम्मेवारी हेरफेर

User Image Prime TV News ३ हप्ता अगाडि
Image of लुम्बिनी सरकारमा नेकपाबाट तीन मन्त्री थपिए, मन्त्रालयको जिम्मेवारी हेरफेर

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टीबाट तीन जना मन्त्री नियुक्त हुने भएका छन्।

मुख्यमन्त्री चेतनारायण आचार्यले नेकपाबाट तीन जनाको नाम प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका हुन्। नयाँ नियुक्त हुनेमा दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य मन्त्रालय, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र कृष्णा कुश्मा थारूलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ मंगलबार दिउँसो ३ः२५ बजे प्रदेश प्रमुखको कार्यालय, बुटवलमा हुने कार्यक्रम तय गरिएको छ। मन्त्रिपरिषद् पुनर्गठनसँगै यसअघि जिम्मेवारीमा रहेका केही मन्त्रीको मन्त्रालयसमेत हेरफेर गरिएको छ।

तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालय, रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालय, सन्तोषकुमार पाण्डेयलाई सहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी दिने सिफारिस गरिएको छ।

यसअघि स्वास्थ्य मन्त्रालय सम्हाल्दै आएका रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालयमा सारिएको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा रहेका तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

त्यस्तै, सामाजिक विकास मन्त्रालय सम्हाल्दै आएका सन्तोषकुमार पाण्डेयलाई सहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिने प्रस्ताव गरिएको छ। सरकारमा भएको सहमतिअनुसार मन्त्रिपरिषद् पुनर्गठन गर्न लागिएको हो।

नयाँ समीकरणअनुसार नेकपा एमालेबाट मुख्यमन्त्रीसहित चार जना, नेकपाबाट तीन जना र जनता समाजवादी पार्टी, नेपालबाट दुई जना मन्त्री रहने व्यवस्था गरिएको छ। मन्त्रिपरिषद् पुनर्गठनपछि लुम्बिनी प्रदेश सरकारमा सहभागी दलहरूबीच मन्त्रालयको जिम्मेवारी र शक्ति बाँडफाँटसमेत टुंगिने भएको छ।