कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मत
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।
मुख्यमन्त्री कार्कीले विश्वासको मतको प्रस्तावको पक्षमा ५७ मत प्राप्त गरेका हुन्। कोशी प्रदेशसभा सचिवालयका सचिव सुदर्शन खड्काका अनुसार विश्वासको मतसम्बन्धी मतविभाजनमा ८३ जना प्रदेशसभा सदस्य सहभागी भएका थिए।
९२ सदस्यीय कोशी प्रदेशसभामा सरकार गठनका लागि बहुमत पुग्न ४७ मत आवश्यक पर्छ। मुख्यमन्त्री कार्कीले आवश्यक बहुमतभन्दा १० मत बढी प्राप्त गरेका छन्। हाल कोशी प्रदेशसभामा नेकपा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ सांसद रहेका छन्।
यी दुई दलबीच भएको पछिल्लो सहमतिअनुसार मौजुदा मन्त्रिपरिषद्मा नयाँ नियुक्ति, हेरफेर तथा कार्यविभाजनसमेत गरिएको छ। यसअघि मुख्यमन्त्री कार्कीको नेतृत्वमा २०८१ वैशाख २७ गते कोशी प्रदेश मन्त्रिपरिषद् गठन भएको थियो।
विश्वासको मत पाएसँगै मुख्यमन्त्री कार्की नेतृत्वको प्रदेश सरकारलाई थप राजनीतिक आधार प्राप्त भएको छ। एमाले र नेकपाबीचको सहमतिअनुसार सरकार सञ्चालन तथा मन्त्रिपरिषद्को जिम्मेवारी बाँडफाँटलाई समेत अब निरन्तरता दिइनेछ।







