राप्रपा संसदीय दलका नेता उद्धव थापालाई पदमुक्त गर्न सभामुखलाई पत्र
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशसभा संसदीय दलका नेता उद्धव थापालाई पदमुक्त गर्न माग गर्दै प्रदेशसभाका सभामुखलाई पत्र पठाएको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले प्रदेशसभाका सभामुखलाई सम्बोधन गर्दै थापालाई संसदीय दलको नेताबाट पदमुक्त गर्न मागसहित पत्र पठाएका हुन्। लामो समयको आनाकानीपछि पत्र प्रदेशसभामा दर्ता भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन्।
यसअघि मुख्यमन्त्री किरण थापामगरको नियुक्तिका लागि उद्धव थापाले दिएको समर्थनलाई लिएर राप्रपाभित्र विवाद उत्पन्न भएको थियो। पार्टीको निर्णय र निर्देशनविपरीत समर्थन दिएको भन्दै राप्रपाले उनको भूमिकामाथि प्रश्न उठाउँदै आएको छ।
यसैबीच, मुख्यमन्त्री थापामगरले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरिरहेका बेला राप्रपाले अदालतमा विचाराधीन मुद्दातर्फ समेत सभामुखको ध्यानाकर्षण गराएको छ। प्रवक्ता श्रेष्ठका अनुसार उच्च अदालत पाटन, हेटौँडा इजलासले मुख्यमन्त्रीको नियुक्तिविरुद्ध परेको रिटमा अन्तरिम आदेशका लागि दुवै पक्षलाई भदौ १० गते छलफलमा बोलाएको अवस्थामा त्यसअघि मुख्यमन्त्रीले विश्वासको मत लिन नमिल्ने तर्क राप्रपाको छ।
‘यदि आज विश्वासको मत लिइएमा अदालतको मानहानि हुन जानेछ भन्नेमा सभामुख सचेत नै हुनुहुन्छ होला,’ श्रेष्ठले भनेका छन्।
मुख्यमन्त्री थापामगरको नियुक्तिविरुद्ध परेको रिटमा अदालतले यसअघि कारण देखाऊ आदेश जारी गरिसकेको छ। अन्तरिम आदेशको मागमाथि भदौ १० गते हुने छलफल अघि नै विश्वासको मत लिन खोजिएपछि बागमती प्रदेशको राजनीतिक विवाद थप जटिल बनेको छ।







