रामबहादुर थापा र इन्दिरा रानामगरको असंसदीय शब्द संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन

User Image Prime TV News ३ हप्ता अगाडि
Image of रामबहादुर थापा र इन्दिरा रानामगरको असंसदीय शब्द संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन

काठमाडौ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको बैठकमा दुई सांसदले प्रयोग गरेका असंसदीय तथा अमर्यादित शब्द संसद्को अभिलेखबाट हटाउन निर्देशन दिएका छन्।

सभामुख अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगर र नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रयोग गरेका केही शब्द अभिलेखबाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिएका हुन्।

भदौ १ गतेको प्रतिनिधिसभा बैठकमा सांसद रानामगरले प्रयोग गरेका ‘भालु’, ‘वेश्या’ र ‘साइबर सेना’ लगायतका शब्द असंसदीय तथा अमर्यादित भएको भन्दै सभामुखले अभिलेखबाट हटाउन निर्देशन दिएका छन्।

त्यस्तै, भदौ ३ गतेको बैठकमा एमाले संसदीय दलका नेता बादलले प्रयोग गरेका ‘नागरिकहरूको बलि’, ‘पाकिस्तानी मोडल’, ‘नर्थ कोरिया मोडल’ र ‘अमेरिका’ लगायतका शब्दसमेत संसद्को रेकर्डबाट हटाउन निर्देशन दिइएको छ।

सभामुखको निर्देशनपछि संसद् सचिवालयले सम्बन्धित बैठकका अभिलेखबाट ती शब्द हटाउने प्रक्रिया अघि बढाउनेछ। संसद् बैठकमा सांसदहरूले प्रयोग गर्ने भाषा मर्यादित र संसदीय गरिमाअनुकूल हुनुपर्ने व्यवस्था रहेकाले सभामुखले असंसदीय शब्द हटाउन निर्देशन दिने अभ्यास रहँदै आएको छ।