बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।
विश्वासको मतका लागि दिउँसो ४ बजे प्रदेशसभा बैठक बोलाइएको छ। मुख्यमन्त्री थापाले आइतबारदेखि नै विश्वासको मत लिन तयारी गरे पनि सत्ता गठबन्धनभित्र देखिएको विवादका कारण प्रक्रिया अघि बढ्न सकेको थिएन।
सोमबार पटकपटक बैठक सारिएर राति ८ बजेका लागि तय गरिएको बैठकसमेत बस्न नसकेपछि आजका लागि बैठक बोलाइएको हो। सत्ता साझेदार नेपाली कम्युनिस्ट पार्टीका सात सांसद सोमबारको बैठकमा अनुपस्थित भएपछि मुख्यमन्त्री थप दबाबमा परेका थिए।
मन्त्री बन्न नपाएको भन्दै युवराज चौलागाईं, रुकु चौलागाईं, उर्मिला लामा, गङ्गा नारायण श्रेष्ठ, लक्ष्मण लम्साल र कृष्ण खनालसहित सात सांसद असन्तुष्ट रहेको बताइएको छ।
मुख्यमन्त्री थापा एमाले, नेकपा र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका हुन्। तर, सरकार गठनमा समर्थन गरेका नेकपा र राप्रपाभित्रै विवाद देखिएपछि उनको विश्वासको मतको विषय पेचिलो बनेको छ।
बागमती प्रदेशसभामा विश्वासको मतका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। एमाले र नेकपाका सबै सांसदले मुख्यमन्त्रीको पक्षमा मतदान गरे पनि दुई मत अपुग हुने भएकाले राप्रपाका १२ सांसदमध्ये कम्तीमा नौ जनाको समर्थन आवश्यक पर्ने अवस्था छ।
राप्रपा केन्द्रले बागमती प्रदेशमा कुनै पक्षलाई समर्थन नगर्ने निर्णय गरेको थियो। तर, राप्रपा बागमती संसदीय दलका नेता उद्धव थापाले सरकारलाई समर्थन गरेपछि किरण थापा मुख्यमन्त्री बनेका हुन्।
यसविरुद्ध राप्रपा बागमतीकी सचेतक कुमारी तामाङले उच्च अदालत हेटौँडामा रिट दायर गरेकी छन्। अदालतले कारण देखाउ आदेश जारी गर्दै भदौ १० गते छलफलका लागि बोलाएको छ।
रिटको टुंगो नलागेसम्म मुख्यमन्त्रीले विश्वासको मत लिन नहुने अडान नेपाली कांग्रेस र राप्रपा केन्द्रले राख्दै आएका छन्। गठबन्धनभित्रको विवाद र राप्रपाका सांसदहरूको भूमिकाका कारण आजको विश्वासको मत बागमती प्रदेश सरकारका लागि निर्णायक बनेको छ ।







